
बिरामीको स्वास्थ्यसम्बन्धी अभिलेख विद्युतीय मेसिनमा राख्न सुरु
गोरखा अस्पतालले बिरामीहरुको मेडिकल अभिलेख विद्युतीय उपकरणमा राख्न सुरु गरेको छ । गत असोज महिनादेखि ईएमआर उपकरण जडान गरी अस्पतालले बिरामीहरुको मेडिकल अभिलेख राख्न सुरु गरेको हो ।
इएमआर उपकरण जडान गरेपछि बिरामीको प्रयोगशाला परीक्षण रिपोर्ट तथा एक्सरे, भिडियो एक्सरे रिपोर्ट सबै विद्युतीय उपकरणमा सुरक्षित रहने मेडिकल सुपरिटेण्डेण्ट सिद्धार्थ खनालले जानकारी दिए । ‘इएमआर सेवा सञ्चालन भएपछि अब ल्याब टेस्टको रिपोर्ट लिन लाइन बसिरहनु पनि पर्दैन, विभिन्न मेडिकल चेकअपको हिस्ट्रीका कागजपत्रको फाइल बोकेर कोठा–कोठा चाहारिरहनु पर्दैन’, डाक्टर खनालले भने, ‘ल्याब तथा एक्सरे, भिडियो एक्सरे, इसिजी, इकोका रिपोर्टहरु सबै इएमआरमै अपलोड गरिएको हुन्छ । बिरामी नंबर अंकित टोकन साथमा राखे पुग्छ ।’
इएमआर सेवाका कारण भावी दिनमा मेडिकल हिस्ट्री हेर्न पनि सजिलो हुने उनले बताए । ‘इएमआरका कारण कुनै बिरामीले पुरानो चेकजाँचको कागजात हराए पनि अब कुनै समस्या हुनेछैन’, डाक्टर खनालले भने, ‘विश्वमा यो सेवामा धेरै नै पहिलेदेखि अभ्यास भइसकेको हो । नेपालमा यो सेवा सुरु गर्ने हामी पन्द्रौँ अस्पताल हौँ, गण्डकी प्रदेशमा तेस्रो ।’ इएमआर सेवाका कारण स्वास्थ्य सेवा चुस्त हुने उनले विश्वास व्यक्त गरे ।




