
जाडो बढेपछि बेसी झ¥यो विद्यालय
प्रतीक्षा आले ।
जिल्लाको हिमाली भेगको एक विद्यालय जाडो बढ्न थालेपछि बेसी सारिएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं २ स्यालास्थित ल्हो पेमा सम्भवा मावि आरुघाट गाउँपालिका ३ कोखेटारमा सारिएको हो ।
समुद्री सतहबाट ३५०० मिटर उचाइको स्यालामा चिसो बढेपछि ५०० मिटर उचाइको कोखेटारस्थित आफ्नै भवनमा सारिएको प्रधानाध्यापक बाबुराम धमलाले बताए । शिक्षक, विद्यार्थीहरु साबिक ल्हो गाविसको स्यालाबाट चारदिनको बाटो तल कोखेटार झरेको उनले जानकारी दिए ।
उत्तरी गोरखाको ल्हो गाउँ पुग्न पालिकाको केन्द्र सिर्दिबासबाट दुई दिन पैदल हिँड्नुपर्छ । सिर्दिबासबाट पैदल दुई दिन र मोटरमा भए एक दिन हिँडेर कोखेटार पुगिन्छ । ‘हरेक वर्ष बैशाखदेखि असोजसम्म स्यालामा र कात्तिकदेखि चैतसम्म आरुघाटको कोखेटारबाट विद्यालय संचालन हुन्छ’, प्रअ धमलाले भने, ‘हिउँदका बेला स्यालामा चिसो बढेर पठनपाठन गर्न गाह्रो छ । हिउँ पर्ने, पानी जम्ने र बस्न समेत कठिन भएपछि आरुघाटमा घुम्ती विद्यालय संचालन गरेका हौँ ।’
हरेक वर्ष तिहार लगत्तै विद्यालयले आरुघाटको कोखेटारबाट पठनपाठन सुरु गर्ने र नयाँ शैक्षिक सत्र स्यालाबाट सुरु गर्ने गरेको उनले बताएका छन् । ल्हो पेमा सम्भवा माविले २०७२ सालदेखि आरुघाटबाट घुम्ती विद्यालय सुरु गरेको हो । सोनाम दोर्जे लामा रिम्पोछेको सहयोगमा स्याला र आरुघाट दुबै ठाउँमा आवाससहितको विद्यालय भवन निर्माण भएको विद्यालयका प्रअ धमला बताउँछन् ।
हाल विद्यालयमा कक्षा १ देखि १० सम्म २५३ जना विद्यार्थीहरु रहेको उनले जनाए । उनी भन्छन्, ‘विद्यालयका कर्मचारीहरु समेत गरेर करिब ३०० जना छौँ । ९८ जना विद्यार्थीहरु सरकारको छात्रबास छात्रबृत्ति कोटाअन्तरगत बस्छन् । बाँकी सबै विद्यार्थी, शिक्षक, कर्मचारीलाई सोनाम दोर्जे रिम्पोछेले खर्च व्यवस्था गर्नुभएको छ ।’
हरेक वर्षको हिउँदमा कोखेटार झरेर विद्यालय संचालन गर्दा पठनपाठनमा सहजता आएको प्रअ धमलाको भनाइ छ । ‘ल्होको स्यालामा अत्याधिक चिसोका कारण ६ महिना नै विद्यालय बन्द गर्नुपर्ने अवस्था थियो । यहाँ आईसकेपछि भने विद्यार्थी, शिक्षक सबैलाई राहत मिलेको छ । पठनपाठन पनि सहज बनेको छ’, उनले भने । सुविधा सम्पन्न आवाससहित हिउँद बर्खै नियमित पढाइ भएका कारण बिगतका एसईईको नतिजा जिल्लाकै राम्रो हुने गरेको उनको भनाइ छ ।
विद्यालयले २०७८ देखि माध्यमिक शिक्षा परिक्षा (एसईई) मा सहभागिता जनाएको हो । यस वर्ष विद्यालयका १४ जना विद्यार्थीहरुले एसईई दिँदैछन् । उनीहरुले आरुघाटबाटै एसईई दिने गरेका छन ।




