| आइतवार, कार्तिक २२, २०८३

क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि गोरखाबाट एकलाख रुपैँया संकलन

प्रतीक्षा आले ।
गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि गोरखाबाट एकलाख एकहजार रुपैँया संकलन भएको छ । आइतबार जिल्लाका विभिन्न सामाजिक संस्थाहरुले संयुक्त रुपमा संचालन गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माणमा सहयोग अभियान’ अन्तरगत उक्त रकम संकलन भएको अभियानका संयोजक हरि देवकोटाले जानकारी दिए ।

जेन–जी आन्दोलनमा ध्वस्त भएका भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले खडा गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदानका लागि अभियान संचालन गरेको अभियानका संयोजक तथा गैरसरकारी संस्था महासंघ(एनजीओ फेडेरेशन) गोरखाका अध्यक्ष हरि देवकोटाले बताए । उनी एकिकरण नेपालका कार्यकारी निर्देशक पनि हुन् ।

देवकोटाका अनुसार यो अभियान आउँदो मंगलबारसम्म संचालन हुनेछ । ‘आज(आइतबार) गोरखा सदरमुकाममा घरदैलो कार्यक्रम गरेर एक लाख एक हजार रुपैँया संकलन भएको छ’, उनले भने, ‘मंगलबारसम्ममा अलि धेरै रकम उठाउन सके राष्ट्र निर्माणमा थप टेवा हुने थियो भनेर समयावधि बढाएका हौँ ।’ अभियानमा सहयोग गर्न इच्छुकहरुले सोमबार र मंगलबार भने क्युआरमार्फत सहयोग गर्न सक्ने उनले जानकारी दिए ।

मंगलबारसम्म संकलित रकम नामावली र बैँक स्टेटमेन्टसहित प्रमुख जिल्ला अधिकारीलाई बुझाइने अभियानका संयोजक देवकोटाले बताएका छन् । ‘अभियानबाट संकलित रकम सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दाखिला हुनेछ । सिडिओको रोहबरमा रकम दाखिला गर्नेछौँ’, उनले भने । कोषमा दाखिला भएको रकमको विवरण जिल्ला प्रशासन कार्यालय गोरखा र प्रधानमन्त्रीको कार्यालयलाई बुझाउने र सहयोगीहरुको नामावलीसहितको विवरण विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक गरिने उनको भनाइ छ ।

जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाहरुले एकआपसमा समन्वय गरेर भौतिक पूर्वाधार पुनर्निर्माणमा सहयोग अभियान संचालन गरेको हो । जिल्लामा अभियान संचालन गर्नुको मुख्य उद्देश्य देशको पुनर्निर्माण अभियानमा गोरखाको पनि ऐक्यबद्धता जनाउनु रहेको अभियानका संयोजक हरि देवकोटाले बताएका छन् ।

सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले गत असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वेच्छिक रूपमा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो । जसअनुसार व्यक्ति र संस्था गरेर हालसम्म करिब सवा ९ करोड रुपैयाँ सहयोग संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्