| सोमवार, कार्तिक २३, २०८३

स्यार खोला जलविद्युत आयोजनाले पायो विद्युत उत्पादन अनुमति

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ६ चुम्चेतमा निर्माण हुन लागेको स्यार खोला जलविद्युत आयोजनाले विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको हो ।

४५ मेगावाट क्षमताको उक्त आयोजना चिलिमे जलविद्युत् कम्पनीले निर्माण लागेको हो । बुढीगण्डकी नदीमा निर्माण हुने सो आयोजना नदी प्रवाही(रनअफ रिभर) प्रकृतिको हो । आयोजनाबाट वार्षिक तीन सय ४८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।

आयोजना आगामि ४ वर्ष अर्थात् सन् २०२९ मा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीका साथै वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तयार भइसकेको छ । चुमचेत स्यार खोला जलविद्युत आयोजनाको डिजाइन बहाव १३.८५ घनमिटर प्रतिसेकेण्ड रहेको छ ।

आयोजनाको कुल हेड ३८२ मिटरबाट पानी खसालेलर आयोजनाबाट वार्षिक सरदर २५ करोड ३१ युनिट बिजुली विद्युतीय ऊर्जा उत्पादन हुने चिलिमेले गरेको अध्ययनले देखाएको छ । उत्पादित ऊर्जालाई २२० केभी सिङ्गल सर्किट विद्युत प्रसारण लाइन मार्फत बूढीगण्डकी प्रोक जलविद्युत आयोजनाको स्वीचिङ स्टेसनमा जोडिने छ ।

तत्पश्चात बूढीगण्डकी प्रोक जलविद्युत आयोजना, बूढीगण्डकी प्रोक–१ जलविद्युत आयोजना र चुमचेत स्यारखोला जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई ७० किलोमिटर लामो एकीकृत २२० केभी डबल सर्किट विद्युत प्रसारणलाइनमार्फत लापाङ बिहारथोक सवस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्