
निजी उद्योगको ब्यापारमा गाउँपालिकाको लोगो
भीमसेनथापा गाउँपालिकाको लोगो टाँसेर एक निजी उद्योगले सातु उत्पादन गरेर बिक्री बितरण गर्ने गरेको छ । सरकारी लोगोको दुरुपयोग गरी निजी क्षेत्रले व्यापार गरेको भन्दै स्थानीय बजारमा आलोचना भइरहेको छ ।
थाक्रे गाउँपालिका ८ धादिङको गोपीकृष्ण खाद्य उद्योग प्रालिले भीमसेनथापा गाउँपालिकाको लोगो टाँसेर उत्पादन गरेको सर्वोत्तम सातु गोरखाका बजारहरुमा बेच्ने गरेको हो । बिगत करिब आठ महिनादेखि सो कम्पनीले स्थानीय तहको लोगो दुरुपयोग गरी व्यापार व्यवसाय गर्दै आएको हो ।
धादिङको कम्पनीले गाडीमा सर्वोत्तम सातु बेच्दै ल्याउने गरेको आरुघाटका व्यापारीहरुको भनाइ छ । ‘हामीले पसलमा राखेर बेच्ने गरेको करिब आठ महिनाजति भयो’, गोरखाको आरुघाट बजारकी खुद्रा तथा किराना पसले सिर्जना श्रेष्ठले भनिन्, ‘गाडीले बेच्दै ल्याउँछ । हामीले उसैसंग किनेर बेच्ने गरेका हौं ।’ एक भाँडा सातुलाई २५० मा बेच्ने गरेको उनले बताइन् ।
सरकारी लोगो प्रयोग गरेर व्यापार गरेको भन्दै स्थानीय बजारमा भने आलोचना भएको छ । ‘गाउँपालिकाको लोगो टाँसेको सर्वोत्तम सातु यता बजारहरुमा खुल्लमखुल्ला बिक्री भइरहेको छ’, नाम उल्लेख नगरिदिन अनुरोध गर्दै एकजना स्थानीयले भने, ‘प्राइभेट कम्पनीको उत्पादनमा गाउँपालिकाको लोगो प्रयोग गर्नु भनेको सरकारी लोगोको दुरुपयोग हो ।’
भीमसेनथापा गाउँपालिकाले सहिदस्मृति खाद्य उद्योग स्थापना गरी स्थानीय कच्चपदार्थबाट विभिन्न बस्तु उत्पादन गर्ने लक्ष्य राखेको गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जराले बताए । त्यही लक्ष्यअनुसार गोपीकृष्ण खाद्य उद्योगले सर्वोत्तम सातु उत्पादन गरेको गाउँपालिकाका प्रमुख बञ्जरा बताउँछन् । ‘सहिदस्मृति खाद्य उद्योग दर्ताको प्रक्रियामा सुरु गरेका थियौँ । तर प्रक्रियागत जटिलताका कारण झण्झट भयो’, पालिका प्रमुख बञ्जराले भने, ‘हामीले ज्येष्ठ नागरिकहरुलाई दिनका लागि भनेर उत्पादन गरेका हौँ ।’ हाटबजारमा बेच्न राख्ने उद्देश्य रहे पनि सो लक्ष्य पनि पूरा हुन नसकेको उनको भनाइ छ ।
निजी कम्पनीले उत्पादन गरे पनि पालिकासंग औपचारिक रुपमा भने कुनै सम्झौता नगरेको पालिकाले जनाएको छ । पालिकाले आफ्नो उत्पादन ब्राण्डिङ गर्न लोगो प्रयोग गर्न सक्ने भए पनि निजी कम्पनीको विषयमा के भएको भन्ने बारे आफूले बुझ्ने प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले बताए ।
उत्पादनको गुणस्तरको मापदण्ड पनि पालना गरिएको छैन । गत वैशाखदेखि कात्तिक मसान्तसम्म पालिकासंगको सहमतिमा सर्वोत्तम सातु उत्पादन गरेको सो कम्पनीका प्रोपाइटर हेमकान्त पराजुली बताउँछन् । ‘सम्झौता रद्ध भइसकेको छ । मंसीर १ गतेबाट पालिकाको लोगो राखेर उत्पादन गर्दैनौँ’, उनले भने ।




