
जेनजीद्वारा ध्वस्त भौतिक संरचना पुननिर्माण गर्न सहयोग अभियान संचालन हुने
जेन–जीद्वारा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि गोरखामा सहयोग अभियान संचालन हुने भएको छ । जिल्लाका विभिन्न सामाजिक संस्थाहरुले संयुक्त रुपमा आउँदो १४ गते आईतबार भौतिक पूर्वाधार पुनर्निर्माणमा सहयोग अभियान संचालन गर्न लागेका हुन् ।
जेनजीले ध्वस्त पारेका भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले खडा गरेको भौतिक पूर्वाधार पुननिर्माण कोषमा योगदानका लागि अभियान संचालन गर्न लागेको अभियानका संयोजक हरि देवकोटाले बताए । उनी गैरसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष पनि हुन् ।
जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर अभियान संचालन गर्न लागिएको उनले जानकारी दिए । ‘अभियानअन्तरगत आइतबार गोरखा सदरमुकामको खोलखोलेदेखि नयाँबजारसम्म सहयोग संकलन ¥याली गर्छौँ’, उनले भने, ‘¥यालीमार्फत व्यक्ति तथा संघसंस्थाहरुलाई भौतिक पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न आव्हान गर्छौँ । उहाँहरुले स्वस्फुर्त रुपमा आर्थिक सहयोग गर्न सक्नुहुन्छ । अभियानबाट संकलित रकम सरकारको भौतिक पूर्वाधार पुननिर्माण कोषमा दाखिला हुन्छ ।’
कोषमा दाखिला भएको रकमको विवरण जिल्ला प्रशासन कार्यालय गोरखा र प्रधानमन्त्रीको कार्यालयलाई बुझाउने र सहयोगीहरुको नामावलीसहितको विवरण विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक गरिने अभियान संयोजक देवकोटाले बताएका छन् । देवकोटाका अनुसार एकदिन चल्ने उक्त अभियानमा क्युआर मार्फत पनि सहयोग गर्न सकिन्छ ।
‘जिल्लामा अभियान संचालन गर्नुको मुख्य उद्देश्य देशको पुनर्निर्माण अभियानमा गोरखाको पनि ऐक्यबद्धता जनाउनु हो’, उनले भने । भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ ।
सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले गत असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वेच्छिक रूपमा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो । जसअनुसार व्यक्ति र संस्था गरेर हालसम्म करिब सवा ९ करोड रुपैयाँ बराबरको सहयोग संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।




