
सिर्दिबासको खाद्य डिपोमा सहुलियतको चामल बिकेन
एक बर्षअघिसम्म सरकारी गोदामको चामल हारालुछ हुने उत्तरी गोरखाको सिर्दिबासमा यसवर्ष गोदाममै अटाइनअटाइ थुप्रिएको छ । सिर्दिबाससम्म मोटरबाटो पुगेपछि स्थानीयहरुले सरकारी गोदामको भन्दा पसलको चामल खान थालेकाले कम्पनीको चामल गोदाममै थुप्रिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय गोरखाकी प्रमुख रञ्जना केसीले बताइन् ।
गत वर्ष दुईहजार क्वीन्टल चामल बिक्री भएको यहाँ यो वर्ष हालसम्म जम्मा ६०० कुइन्टल चामल पनि बिक्री नभएको केसीले जानकारी दिइन् । ‘सिर्दिबासमा बार्षिक दुईहजार क्वीण्टल चामल जाने गरेको थियो जुन हारालुछ हुन्थ्यो । ‘विगतका वर्षहरुमा त्यहाँको माग धान्न गाह्रो थियो’, उनले भनिन्, ‘तर यस वर्ष पहिलो पटक सिर्दिबास डिपोको चामल कम बिक्री भएको छ । त्यहाँ मोटरबाटो पुगेसँगै स्थानीयहरुले कमसल खाले सस्तो चामल उपभोग गर्न सुरु गरेका छन् । खाद्यको गुणस्तरीय चामल गोदाममै थन्किएको छ ।’
कम्पनीको सिर्दिबास डिपोमा झन्डै ५० प्रतिशत बिक्री दर घटेको उनले बताएकी छिन् । उपभोक्ताहरुले खाद्यको गुणस्तरीय चामलभन्दा बजारमा पाइने सर्वसुलभ सस्ता चामल रोजेकाले बिक्रीदर घटेको उनको भनाई छ । आर्थिक अबस्था कमजोर भएकाले ग्रामीण भेगका बासिन्दाले गुणस्तरीय भन्दा सुपथ मूल्यको चामल रोज्ने गरेका हुन् ।
‘हाम्रोमा दुईथरी गुणस्तरीय चामल मात्र छ । बजारमा थोरै विकल्पहरु छन् । त्यसैले पनि उपभोक्ताहरुले हाम्रोबाट लैजानुहुन्न । सिर्दिबासमा यसअघिसम्म मोटर पुगेको थिएन, खाद्यको चामल बाहेक अन्य बिकल्प थिएन । अहिले मोटरसँगै धेरै बिकल्पहरु पनि पुगेका छन्’, उनले भनिन् ।
खाद्य कम्पनीले उत्तरी गोरखाको चुम्लिङ्ग र नाम्रुङ्गमा पनि बिक्री केन्द्र स्थापना गरेकाले सिर्दिबास डिपोमा बिक्री कम भएको खाद्य कम्पनी गोरखाकी प्रमुख रञ्जना केसी बताउँछिन् । उनी भन्छिन्, ‘पहिले पहिले माथिल्लो भेगका मानिसहरु पनि चामल लिन सिर्दिबास नै झर्नुपथ्र्यो त्यसैले पनि सिर्दिबास डिपोको चामल हारालुछ हुन्थ्यो । अहिले चुम्लिङ्ग र नाम्रुङ्गमा पनि बिक्री केन्द्र स्थापना गरेपछि सिर्दिबास डिपोको बिक्री वितरण घटेको हो ।’
केसीका अनुसार कम्पनीको मुख्य उद्देश्य विकट क्षेत्रका बासिन्दालाई चामल पु¥याउनु हो । ‘सिर्दिबाससम्म गाडी पुगेपनि त्योभन्दा माथिको क्षेत्रमा खाद्यको चामल बाहेक अन्य बिकल्प छैन । त्यहाँको बिक्रीदर घटेपनि माथिल्लो क्षेत्रहरुमा अझैँ पनि माग अनुसारको आपूर्ति गर्न सकेका छैनौँ’, उनले भनिन् ।
खाद्यको गोरखा सदरमुकामस्थित शाखा कार्यालयको चामल पनि कम बिक्री हुने गरेको छ । सदरमुकामको कार्यालयबाट जिल्ला कारागार र सर्वसाधारणलाई गरेर वार्षिक जम्मा १६ देखि १८ सय क्वीन्टल चामल बिक्री हुने गरेको हो । कार्यालयले सोना मन्सुली चामल प्रतिकेजी रु ६५ रुपैँयामा र स्टीम जिरा मसिनो चामल प्रतिकेजी ९० र डिपो सिर्दिबास तथा बिक्री केन्द्र चुम्लिङ्ग र नाम्रुङ्गमा प्रतिकेजी ९२ रुपैँयाका दरले बिक्री वितरण गर्दै आइरहेको छ ।




