| शुक्रबार, बैशाख १७, २०८३

अँबुवा–पौवाटार सडक कालोपत्रेको काम म्याद सकिन लाग्दा ३० प्रतिशत प्रगति

प्रतीक्षा आले ।
अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे गर्ने काम तीन बर्षमा ३० प्रतिशतमात्र प्रगति भएको छ । ठेकेदारको चरम लापार्बाहीका कारण प्रगति ज्यादै न्यून भएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वय इकाईले जनाएको छ ।

इकाइका अनुसार म्याद सकिन लाग्दासम्म एक तिहाइ मात्र काम गर्ने अमर भिबिइपिएल–एसिपिएल जेभी निर्माण कम्पनी हो ।
सडक कालोपत्रेका लागि सन् २०२३ मार्च ३१ मा ठेक्का सम्झौता गरेको काममा ढिलासुस्ती गरेको कार्यालयले जनाएको छ ।
१६ किलोमिटर सो सडक कालोपत्रेका लागि रु ३० करोड ६१ लाखमा ठेक्का सम्झौँता भएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वय इकाई पोखराका सूचना अधिकारी दिपक बरालले बताए ।

उनका अनुसार निर्माण कम्पनीले २०८२ साल चैत्र १३ गतेभित्र सम्पन्न गर्नेगरी कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । कार्यालयको पटक पटक ताकेता गर्दा समेत निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेको उनले जानकारी दिए । ‘हामीले पटक पटक पत्र काटेपछि बल्ल ठेकेदार कम्पनीले काम सुरु गरेको छ’ उनले भने, ‘हाल नाला निर्माण र ग्याभिङ्ग पर्खाल लगाउने काम भैरहेको छ । निर्धारित समयभित्र काम सम्पन्न हृुने कुनै चान्स नै छैन् ।’

ठेकेदारले केही समयअघि मात्र कामदार ल्याएर काम सुरु गरेको उनले बताएका छन् । कालोपत्रे हुन लागेको अबुँवादेखि पौवाटारसम्मको करिब १६ किलोमिटर सडक ५.५ मिटर फराकिलो रहने छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक कालोपत्रे गर्न लागिएको हो । उक्त सडक डिबिएसटी प्रविधिबाट निर्माण हुँदै गरेको इकाईका इन्जिनियर बरालको भनाइ छ ।

अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक निर्धारित समयमा कालोपत्रे नहुँदा स्थानीयहरु मर्कामा परेका पालुङटार नगरपालिका वडा नं ९ का वडाअध्यक्ष भेजराज पण्डेले बताए । ‘यतिबेला धमाधम कालोपत्रे हुनुपर्ने सडकको काम भर्खर सुरु भएको छ । जुन गतिमा काम हुनुपर्ने थियो त्यो भएन’, उनले भने, ‘निर्माण कार्य लामो समय चल्दा सडकमा निर्माण सामाग्रीहरु अलपत्र छन् । स्थानियहरु धुँवाधुलोबाट ग्रसित छन् ।’ सडक छिटोभन्दा छिटो कालोपत्रे हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्