
हिमपातबाट उत्पन्न हुनसक्ने विपद् प्रतिकार्यका लागि सतर्क रहन निर्देशन
सिजन नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय गोरखाले हिमपातबाट उत्पन्न हुनसक्ने बिपद्को प्रतिकार्यका लागि सतर्क रहन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सरोकारवालाहरुको बैठकमा प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थालाई यस्तो निर्देशन गरेका हुन् ।
‘उत्तरी गोरखामा हिमपात हुने सिजन नजिकिँदै छ । यो अवस्थालाई मध्यनजर गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनस्वास्थ्य, पशु स्वास्थ्य, खानेपानी, खाद्य व्यवस्था, वनलगायतका कार्यालयहरुलाई विपद् प्रतिकार्यका लागि सतर्क अबस्थामा रहन सिडिओसाबले निर्देशन दिनुभएको छ’, सहायम प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, ‘अहिले नै तयारी अबस्थामा रह्यो भने आवश्यक परेका बेला तत्काल सेवा प्रतिकार्य गर्न सहज हुन्छ भन्ने हिसाबले पूर्वतयारी गराइएको हो ।’
बैठकमा जिल्लास्थित प्रहरी, सशस्त्र प्रहरी, जनस्वास्थ्य, पशुस्वास्थ्य, खानेपानी, खाद्य व्यवस्था, वन लगायतका कार्यालयका प्रमुख तथा प्रतिनिधिले हिमपात हुने क्षेत्रको विद्यमान अबस्था र आफ्नो पूर्व तयारीको योजना बारे प्रमुख जिल्ला अधिकारीलाई ब्रिफिङ गरेका थिए ।




