
बारीभरि किवी पाक्यो, किसानलाई बजारको पिर
गोरखाको दुर्गम धार्चे गाउँपालिकाका किसान किवी खेतीतर्फ आकर्षित भएका छन् । हावापानी सुहाउँदो भएकाले यहाँका किसान बिगत आठबर्षदेखि व्यवसायिक रुपमा किवी खेती गर्न थालेका धार्चे २ रुञ्चेतका किसानहरु बताउँछन् । एक, दुई जना किसानले परीक्षणका रुपमा सुरु गरेको रुञ्चेतमा अहिले यहाँ १८ जना किसानले व्यवसायिक रुपमा किवी खेती गरेको वीरबहादुर गुरुङ बताउँछन् ।
‘कसैले एक–दुई रोपनीमा लगाएका छन्, कसैले १०–१२ रोपनीसम्म पनि लगाएका छन्’, उनले भने, ‘हाम्रो गाउँका किसानले एक क्वीण्टलदेखि १२–१५ क्वीण्टलसम्म उत्पादन गर्ने गरेका छन् । आठ रोपनीमा लगाएको मैले पोहोर सात क्वीण्टल बेचेको हुँ । यसपालि झन राम्रो छ ।’ किसानहरु किवीतर्फ उत्साहित भएर लागिपरेको उनको भनाइ छ ।
बारीभरि लटरम्मै किवी पाक्न थालेपछि किसानहरु खुशी हुनुको साँटो पिरोलिन थालेका छन् । सुरुसुरुमा यहाँ किवी हुन्छ भन्ने थाहा नभएर बजारको समस्या थियो । अहिले व्यापारीलाई यहाँको किवीबारे थाहा छ टर, बजारसम्म पु¥याउने समस्या भएको किसान कामीराम गुरुङ बताउँछन् । ‘हाम्रो गाउँमा मोटरबाटो छैन’, उनी भन्छन्, ‘यसपटक बल्लतल्ल बाटो पु¥याइएको थियो तर, पहिरोले साह्रै समस्या पा¥यो । दुईपटकसम्म पहिरो मर्मत गरेपनि गत कात्तिक पहिलो हप्ता परेको बर्षापछिको पहिरोले मर्मत गर्नै नसकिने गरी बाटो बिगा¥यो । डोकोमा बोकेर साध्यै लाग्दैन ।’
बारीमा लटरम्मै किवी पाकेको तर बजारसम्म पु¥याउन नसकेर हैरान भएको किसान वीरबहादुर गुरुङ बताउँछन् । ‘किवी पाकिसकेको छ । बाटो मर्मत गर्न नपाएर बजारसम्म लैजान सकिएको छैन’, उनी भन्छन्, ‘वडा कार्यालयले दुई पटकसम्म मर्मत त गरेको हो तर फेरि ठूलो पहिरो गयो । यसलाई मर्मत गर्न ठूलो रकम लाग्छ, ठेक्का प्रक्रियामा जान धेरै समय लाग्छ भन्छन् । बोटमै कुहिने भो भनेर पिर परेको छ ।’ धेरै पाकेको किवी बजारमा लैजाँदा नबिक्ने समस्या पर्ने उनको पिरलो छ । ‘धेरै पाकेको किवी लग्यो भने कुहियो भनेर किन्दैनन्’, उनले भने, ‘छिटो लैजान बाटै छैन ।’
फेज नेपाल नामक संस्थाको सहयोगमा कामीराम गुरुङले २०७४ सालमा लगाएपछि गाउँलेहरु त्यसतर्फ आकर्षित भएका थिए । अहिले सबैको बारीभरि किबी लटरम्मै फलेको छ । यहाँका सबै गाउँलेले किवी खेती गरेर किवी पकेट क्षेत्र बनाउन सके र काठमाडौं, चितवन, पोखराजस्ता सहरको थोक बजारसम्म पु¥याउन सके यहाँका किसानको आर्थिक स्तर सुधार हुने गाउँलेको विश्वास छ ।
गाउँलेहरु व्यवसायिक खेतीमा लाग्नु खुशीको कुरा भए पनि बाटोको समस्या भएको वडाअध्यक्ष सरोज गुरुङले बताए । ‘बाटो पटक पटक बनाएको हो । पहिरो गएको गयै भयो । बनाउन त फेरि पनि बनाउँछौँ’, उनले भने, ‘काम गर्दाखेरी दुख पाइन्छ । हरेस खानु हुदैन ।’




