| शुक्रबार, बैशाख १७, २०८३

पालुङ्टारका सबै योजनाको चार महिनामै ठेक्का सम्झौता, ९० प्रतिशत कार्य प्रगति गर्ने लक्ष्य

पालुङटार नगरपालिकाको चालु आर्थिक बर्षका सबै योजनाको ठेक्का सम्झौता भएर काम अघि बढेको छ । चालु आर्थिक बर्षका सबै योजनाहरु कात्तिकभित्रै ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

‘यो बर्ष निर्माण सम्बन्धी कुल २० वटा योजना छन्,’ प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले भने, ‘१५ वटाको ठेक्का सम्झौता भइसक्यो, दुई वटा ठेक्का खुलेर मूल्याकंनको चरणमा छन् ।’ बाँकी तीन वटाको पनि ठेक्का आव्हान भइसकेको उनले बताए ।

उनका अनुसार यो बर्ष नदीजन्य पदार्थ सम्बन्धी कुल ११ वटा ठेक्का थियो । जसमध्ये आठ वटा ठेक्का सम्झौता भइसकेको छ । बाँकी तीन वटा ठेक्काको भने तीन पटक ठेक्का आव्हान गर्दा पनि आवेदन नआएपछि कानून बमोजिम बिक्री वितरण गर्ने निर्णय गरिएको बिसीले जानकारी दिए । ‘तीन पटक सूचना प्रकाशित गर्दा पनि कोही ठेक्का फाराम दर्ता गर्न नआएपछि हामीले प्रदेश कानून बमोजिम कार्यपालिकाबाट निर्णय गरेर राष्ट्रिय गौरवका र प्रथम प्राथमिकता प्राप्त माग भए अनुसार बिक्री गर्ने निर्णय गरेका हौँ,’ उनले भने । बिहिबार कार्यपालिकाबाट निर्णय गराएर बिक्री वितरणका लागि बाटो खुल्ला गरिएको उनको भनाइ छ ।

चैत्र महिनाभित्रै सबै योजना सम्पन्न गर्ने र जेठ मसान्तभित्र भुक्तानी गरिसक्ने लक्ष्य नगरपालिकाको छ । उपभोक्ता समिति मार्फत सम्पन्न गनुपर्ने वडाका योजनाहरुको पनि धमाधम सम्झौता भइरहेको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए । ‘सबै वडाका योजनाको लागत अनुमान सम्पन्न भइसकेको छ, एक महिनाभित्र सबै सम्झौता गरिसक्ने लक्ष्य छ,’ उनले भने । उनका अनुसार यो बर्ष करिव ९० प्रतिशत प्रगति गर्ने लक्ष्य नगरपालिकाले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्