| बुधबार, माघ १, २०८२

बुंकोटमा निशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर सुरु

शहिद लखन गाउँपालिका–७ बुंकोटमा स्त्री रोग, पाठेघर तथा स्तन क्यान्सरको परीक्षण एवं परामर्श सम्बन्धि निशुल्क शिविर सुरु भएको छ । हाम्रो सहारा फाउण्डेशनको आयोजना र वडा कार्यालयको समन्वयमा शनिवारबाट शिविर सुरु भएको हो । बुंकोट स्वास्थ्यचौकीमा संचालित शिविरको पहिलो दिन १ सय ५६ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

५७ जना महिलाको स्तन क्यान्सर सम्बन्धि भिआइए परिक्षण गरिएको बुंकोट स्वास्थ्यचौकी प्रमुख बिमला पुलामीले बताइन् । जसमध्ये ६ जनामा क्यान्सरको जोखिम देखिएको बताइएको छ । त्यस्तै शिविरमा आँखा जाँच गरएका १ सय ४३ जनामध्ये पाँच जनामा मोतियाविन्दु देखिएको पुलामीले जानकारी दिइन् । कुल ९२ जनाको भिडियो एक्सरे समेत गरिएको उनले बताइन् । शिविरमा आवश्यकता अनुसार औषधी निशुल्क वितरण समेत भएको छ ।

शिविरको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले उद्घाटन गरेका हुन् । वडाध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा अस्पतालका स्त्री रोग बिशेषज्ञ डा. प्रनिश पोखरेल, नेशनल क्यान्सर केयर फाउण्डेशनकी कार्यकारी निर्देशक डा. सरिता, हाम्रो सहारा फाउण्डेशन गोरखाकी अध्यक्ष कल्पना श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए । शिविर आजसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्