
नेपाल राष्ट्र वैंकका कार्यकारी निर्देशक थापा गोरखामा सम्मानित
नेपाल राष्ट्र वैंकका कार्यकारी निर्देशक राजनविक्रम थापालाई गोरखामा सम्मान गरिएको छ । गोरखामा जन्मेर नेपाल राष्ट्र वैंकको कार्यकारी निर्देशकजस्तो पदमा पुग्न सफल भएको भन्दै गोरखा चेम्बर अफ कमर्श तथा नेपाल ओमन चेम्बर अफ कमर्श गोरखाले थापालाई सम्मान गरेको हो ।
उनलाई गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर तथा गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष रामस्वरुप श्रेष्ठले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
‘गोरखा जिल्लामा जन्मेर नेपालको केन्द्रीय वैंक नेपाल राष्ट्र वैंकको कार्यकारी निर्देशकजस्तो पदमा पदोन्नति हुनु भएकोमा यहाँको जिम्मेवारी, योगदान र नेपालको आर्थिक क्षेत्रको विकास र विस्तारमा हुने भूमिकाबाट समग्र देशमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ’, सो सम्मान पत्रमा भनिएको छ ।
थापा गोरखा नगरपालिका ३ नारेश्वर निवासी हुन् । केही दिनअघि पदोन्नति भई कार्यकारी निर्देशक भएका थापा हाल नेपाल राष्ट्र वैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारीमा छन् ।




