
३० बर्षअघि माओवादीले कब्जा गरेको कसेरीफाट फेरि बन्दीपुरे साहुकै
शिव उप्रेती।
पालुङ्टार नगरपालिका ६ कसेरीफाँट बिगत ६ बर्षदेखि बाँझै छ । १८ सय मुरी धान फल्ने एकहजार रोपनी क्षेत्रफल रहेको कसेरीफाँट बिगत ६ बर्षदेखि बाँझै रहेको स्थानीय सोमबहादुर नेपालीले जानकारी दिए ।
सो खेत सिँचाइ गर्ने बडहरे सिँचाइ आयोजना क्षतिग्रस्त भएपछि जग्गा बाँझिएको नेपालीले जानकारी दिए । ‘यो सबै खेत बडहरे खोलाबाट बाँध बाधेर सिँचाइ गरिएको थियो । ६ बष अघिको ठूलो बाढी, पहिरोले कुलो लगिदियो’, नेपालीले भने, ‘यति ठूलो क्षति ग¥यो कि, किसानले फेरि कूलो बनाएर पानी चलाउन सकेनन् । नगरपालिकाको बजेटले पनि बनाउन नसक्ने भयो ।
सरकारलाई गुहार गर्न पहुँच पुगेन । त्यसैले बाँझै छाडियो ।’ जग्गा बाँझिएपछि यहाँ गरिखाने ६५ जना किसानले हातमुख जोर्न अरु नै बिकल्प खोजेका उनले बताए । लामो समयसम्म जग्गा बाँझिएपछि कसेरी फाँटको इतिहास पनि बदलिएको छ । तीन खेती लाग्ने कसेरी फाँटको एकहजार रोपनी जग्गा बन्दिपुरे साहुको नाममा थियो । स्थानीय ६५ जना किसानले अधियाँ गरी खाएका थिए । सुरुमा ३९ जना मोहियाले कमाएका सो खेतको मोही अहिले ६५ जना पुगेका जग्गाधनीले हेरालुको जिम्मा स्थानीय इश्वर नेपालीलाई दिएका थिए । २०५२ सालमा माओवादी बिद्रोह सुरु भएपछि यहाँको आम्दानीमध्य आधा मोहियाले लगे, जग्गाधनीले पाउने आधा आम्दानी भने माओवादी नेता, कार्यकर्ताले कब्जा गरे । माओवादी शान्ति प्रक्रियामा नआउञ्जेल यही क्रम चलिरहेको स्थानीयबासी बताउँछन् ।
‘२०३८ सालदेखि मोहियाले गरिखाएका थिए । बाउन्न सालमा माओवादी आए । दाइँ गर्ने दिनमा खलोमा बन्दूक बोकेर माओवादी आए । खलोमा चारैतिर झण्डा गाडे । बन्दूक तेस्र्याएर खलो घेरा हाले’, माओवादीले कब्जा गरेको दिनको घटना स्मरण गर्दै स्थानीय मनकुमारी नेपालीले भनिन्, ‘खलोको धान उनीहरुले नै आधा(आधा भाग लगाए ।
आधा तिमीहरु लगेर भकारीमा हालो भने । साहुले पाउने भाग जति उनीहरुले बोकेर लगे । आँपपिपल, हर्मी, लेख(लेख देखिका माओवादी आएर बोकेर लगे ।’ माओवादीको डरत्रासले जग्गाधनीहरु त्यहाँ आउनै नसकेको उनले बताइन् । किसानले माओवादी बोलाएर जग्गा कब्जा गरेको आरोप लगाएर साहुले मोहियाका नाइकेविरुद्ध उजुरी गरे । नाइके पाँचजनाले जेल सजायँ पनि पाए । तर मुद्दा किसानले जिते । ‘माओवादीलाई छेक्न जाँदा हामीलाई बाँधेर खलामा लडाएर धान कब्जा गरेर लगे । माओवादीबाट नि हामी नै पिडित, सरकारबाट पनि हामी नै पिडित’, मनकुमारी भन्छिन्, ‘हामी निर्दोष थियौँ । त्यसैले मुद्दा पनि हामीले नै जित्यौँ ।’शान्ति प्रक्रियामा आएपछि माओवादीले यहाँको धान लैजान छाडे ।
‘२०६३ सालपछि पनि जग्गाधनी आउन सकेनन् । त्यसपछि हामीले खेती गर्ने र धान बेचेर पैसा साहुजीलाई दिन थाल्यौँ’, अर्का स्थानीय मोहिया मिनबहादुर नेपाली भन्छन्, ‘सबै किसानलाई समेट्ने, धान बेचेको पैसा बुझ्ने साहुजीलाई बुझाउने जिम्मा इश्वर नेपालीले लिदै आएका थिए ।’ तर बिगत ६ बर्षदेखि यो क्रम पनि रोकिएको उनको भनाइ छ । माओवादीको कब्जामुक्त भएको सो जग्गा अहिले जग्गाधनी बन्दिपुरे साहुले एकल स्वामित्व बनाएका छन् । ‘किसान हरुलाई जग्गाको खुद मूल्यको एक तिहाइ दिएर जग्गाधनी आफैले जग्गा लिएका छन्’, सो जग्गाको रेखदेख गर्दै आएका ईश्वर नेपाली भन्छन्, ‘३८ सालदेखि खेती गर्दै आएका मोहीहरुलाई उनीहरुले कमाउँदै आएको जग्गाको मूल्य गरेर त्यसको एक तिहाइ मूल्य किसानलाई दिएर आफ्नो नाममा एक्लौटी गरेका छन् ।’ यही बर्षदेखि सबै मोहीले पैसा बुझेर जग्गा साहुलाई नै सुम्पिएका उनले बताए । चारजनाले भने आफूले गर्दै आएको जग्गाको एकतिहाइ जग्गा नै दाबी गरेकाले रकम लेनदेन नभएको उनले बताए ।कसेरी फाँटको सो जग्गा आफ्ना चारपुस्तादेखि कमाउँदै आएको ईश्वर नेपालीको भनाइ छ । उनकाअनुसार बिक्रम सम्बत १९९५ देखि सो जग्गा स्थानीय किसानहरुले खेतीपाती गर्दै आएका थिए ।
स्वामित्व पनि उनीहरुकै थियो । ‘अहिले जस्तै ठूलो बाढी पहिरो आएर कूलो क्षतिग्रस्त बनाएको रहेछ’, नेपाली भन्छन्, ‘त्यो कूलो मर्मत गर्न सक्ने औकात नभएपछि धेरै लामो समयसम्म बाँझो बस्यो । किसानहरुले सरकारलाई कर तिर्न नसकेर छोडिदिए । अनि बन्दिपुरे साहुहरु आएर रोकिएको सबै कर तिरेर आफ्नो नाममा गरेका रहेछन् ।’ बन्दिपुरे साहुले सिँचाइ कूलो बनाएपछि फेरि २०३८ सालदेखि किसानहरुले अधियाँ गरिखान थालेका उनको भनाइ छ ।




