
चेम्बरको मेलामा खुलेआम जुवा, नियामक निकाय मुकदर्शक
गोरखा चेम्बर अफ कमर्सको आयोजनामा हरमटारी खेलमैदानमा जारी मेलामा खुलेआम रुपमा जुवा खेलाउने गरेको पाइएको छ । नियामक निकायकै धज्जी उडाउँदै ठुलै रकम हारजित हुने गरी जुवा संचालन हुने गरेको पाइएको हो । आयोजककै संरक्षणमा जुवा खेलाउने गरेको भन्दै चौतर्फी आलोचना समेत हुन थालेको छ ।
मेला स्थलका केही स्टलमा तिर, लक्की स्पिन डाइस भन्दै पैसामा खेल खेलाउने गरिएको छ । एक प्रकारको जुवाको रुपमा लिइने यी खेलहरुको पछाडी ठुलै रकम हारजित हुने गरी अर्काे जुवा हुने गरेको छ । ठुलै रकमको खाल हुने गरी लंगूरबुर्जा समेत खेलाउने गरेको भेटिएको छ ।
जुवाजन्य कुरा खेलाउन नपाउने भन्दै प्रशासनले मेला संचालनका लागि अनुमति दिएको थियो । सो कुरा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ स्वयम बताउँछन् । ‘मनोरन्जनका कुराहरु मात्र राख्ने, जुवाजन्य कुराहरु खेलाउन नपाउने भनेका थियौ,’ उनले भने । तर प्रशासन कार्यालयलाई अटेर गर्दै मेला स्थलमा खुलेआम जुवा भइरहेको छ ।
मेला स्थलमा सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली खटिएका हुन्छन् । खुलेआम रुपमा संचालन हुदैँ आएको जुवावारे उनीहरु अनविज्ञ छन् वा वेवास्ता गरिरहेका छन्, यसबारे उनीहरु नै जानकार होलान् । नियमन निकाय मुकदर्शक बनेकाले मेलाको नाममा बिकृति बढेको भन्दै आलोचना सुरु भएको छ । आयोजक नै बदनाम हुने गरी मेला स्थलभित्र खेलाइएको जुवा नियन्त्रणका लागि सामाजिक सञ्जाल मार्फत दवाव समेत आउन थालेका छन् ।
मेलामा जुवा खेलाएको पाइएको आयोजक गोरखा चेम्वर अफ कमर्सले पनि स्वीकार गरेको छ । तर त्यसमा आफूहरुको कुनै संलग्नता नरहेको कमर्सका अध्यक्ष रामस्वरुप श्रेष्ठले बताए । ‘अस्ति दुई वटा गोटी खेलाएको भेटेर हामीले फाल्दियौ, हामीले निगरानी गरिरहेका छौ तर हाम्रै आँखा छलेर खेलाइरहेका छन्,’ उनले भने ।
यता मेला संचालनका लागि तोकिएको समयभन्दा अवेरसम्म मेला संचालन हुने गरेको छ । प्रशासनले राती आठ बजेसम्म मात्र अनुमति दिएपनि ९ बजेसम्म पनि मेलाका कार्यक्रम टुंगिदैनन् । राती अवेरसम्म मेला संचालन हुदा समस्या परेको स्थानीयको गुनासो छ । ‘राती चर्काे आवाजले बच्चाहरु सुत्न सक्दैनन्, उनीहरुको पढाइ समेत डिस्टव भाको छ,’ एक स्थानीयले भने ।
तोकिएको समयमा कार्यक्रम सम्पन्न नहुने गरेको आयोजकले पनि स्वीकार गरेको छ । कलाकार र दर्शकको उपस्थितीको अवस्थाका कारण केही ढिलासम्म कार्यक्रम संचालन गर्नुपरेको कमर्सका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
त्यस्तै टिकटमा पनि आयोजकले मनोमानी शुल्क लिन थालेको छ । आयोजकले बिद्यार्थीका लागि ५० रुपैया र अन्यका लागि एक सय रुपैया टिकट शुल्क निर्धारण गरेको थियो । तर पछिल्लो समय बिद्यार्थीसँग पनि एक सय रुपैया शुल्क लिन थालिएको छ । यो कुरा पनि स्वीकार गर्दै आयोजक गोरखा चेम्वर अफ कमर्सका अध्यक्ष श्रेष्ठले भने, ‘५० रुपैया पर्ने टिकट ७ हजार ५ सय पिस छापेका थियौ, त्यो सबै सकियो त्यसैले सय रुपैया नै लिने गरेका हौ ।’ महँगो कलाकार भएकाले खर्च नधान्ने अवस्था आएकाले पनि समस्या भएको उनले जिकिर गरे ।
३५ लाखमा मेला ठेक्कामा दिएको भन्ने बजार चर्चा छ नी ? भन्ने दरौदींको प्रश्नमा श्रेष्ठले भने, ‘त्यो सबै हल्ला मात्र हो, हामीले पिङसँग छुट्टै सम्झौता गरेका छौ, टिकट बिक्रीको कस्मेटिक व्यवसायीसँग सम्झौता गरेका छौ, साउण्ड सिस्टमको छुट्टै छ, सबै छुट्टाछुट्टै सम्झौता गरेका छौ ।’
मेलामा अनुमति बेगर भएका गतिविधीको निगरानी बढाउने र भेटिएमा कारवाही गरिने प्रजिअ तुलसीबहादुर श्रेष्ठले बताए ।
पछिल्लो समय मेलालाई पैसा कमाउने माध्यमको रुपमा मात्र लिन थालिएको छ । कृषि प्रवद्र्धनको नारा जोडिएको यस मेलामा पनि कृषिका दुई वटा स्टल मात्र छन् ।




