
५१ वर्षपछि लाप्राकी युवाहरुद्वारा लमजुङ हिमाल आरोहण
प्रतीक्षा आले :
पहिलो पटक आरोहण भएर रोकिएको ५१ वर्षपछि गोरखाका युवाहरुले लमजुङ हिमालको सफल आरोण गरेका छन । धार्चे गाउँपालिका–४ लाप्राकका सन्दीप गुरुङ, सुजल गुरुङ र वुद्धबहादुर गुरुङले ६,९८३ मिटर अग्लो लम्जुङ हिमाल आरोहण गरेका हुन् ।
मनाङ र कास्कीको सिमानामा रहेको सो हिमाल यसअघि सन् १९७४ मा पहिलो पटक बेलायती सेनाका डेरिक् च्याम्बरलेन र फिलिप नियमिले आरोहण गरेका थिए । त्यसयता थुप्रै आरोहीहरुले पटक–पटक आरोहणको प्रयास गरेपनि सफल हुन सकेका थिएनन् ।
५१ वर्षपछि पहिलो पटक लाप्राकका तीनसहित चार जनाको टोलीले लमजुङ हिमाल आरोहण गरेको आरोही सन्दीप गुरुङले जानकारी दिए । गुरुङको टोलीले यही अक्टोबर २७ को दिन दिउँसो तीन बजे लमजुङ हिमाल आरोहण गरेका थिए ।
सो टोलीमा रहेका सोलुखुम्बुका पुरतेन्जी शेर्पाले पनि लमजुङ हिमाल आरोहण गरेको सोही गुरुङले बताए ।
लमजुङ हिमाल ‘यो पर्वतारोहण क्षेत्रकै ऐतिहासिक आरोहण हो’, उनले भने, ‘५१ वर्षमा थुप्रै आरोहीहरुले लमजुङ हिमाल आरोहणको प्रयास गरेका थिए तर सफल भने हुन सकेका थिएनन् । हाम्रो टोली भने पहिलो प्रयासमा नै सफल भयौँ ।’ गुरुङका अनुसार उनीहरुले हिमालयन समिट क्लवबाट लमजुङ हिमाल आरोहण गरेका हुन् ।
उनी भन्छन्, ‘हाम्रो टोलीमा थप दुईजना विदेशी र एकजना नेपाली पनि हुनुहुन्थ्यो । मौसम खराब भएपछि उहाँहरुचाँहि फर्किनु प¥यो ।’




