
वार्षिक उत्सवको अवसरमा धार्चे अस्पतालद्वारा चार कर्मचारी सम्मानित
गोरखाको दुर्गममा रहेको धार्चे आधारभूत अस्पतालले प्रथम वार्षिक उत्सव मनाएको छ । स्थापना भएको एक बर्ष पूरा भएको उपलक्ष्यमा अस्पतालले गत शुक्रबार प्रथम वार्षिक उत्सव मनाइएको हो ।
धार्चे गाउँपालिकाका प्रमुख लक्ष्मण गुरुङको अध्यक्षतामा सम्पन्न भएको वार्षिक उत्सव कार्यक्रममा अस्पतालमा विभिन्न चार विधामा सर्वोत्कृष्ट कार्य सम्पादन कर्मचारीहरुलाई सम्मान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अमृत घलेले जानकारी दिए ।
उत्कृष्ट कार्यालय सहयोगी काम्नी गुरुङ, उत्कृष्ट पारामेडिक(स्वास्थ्य सहायक) दीपा चन्द, उत्कृष्ट फर्मासिस सहायक सुमन गुरुङ र उत्कृष्ट मेडिकल अधिकृत डाक्टर धनुमाया गुरुङलाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख घलेले जानकारी दिए ।
कार्यक्रममा सो अस्पतालले एकबर्षभरि गरेको कार्य प्रगति प्रस्तुत गरिएको थियो ।
समारोहमा अस्पताल निर्माण तथा सञ्चालनमा सहयोग गर्ने स्वीट्जल्याण्डको संस्था अर्थ सी एयरका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । सो संस्थाको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा अस्पताल निर्माण भएको थियो ।
साथै सो संस्थाले अस्पताल सञ्चालनका लागि दुई जना मेडिकल अधिकृत, दन्तरोग विशेषज्ञ, नर्सिङ स्टाफ, कार्यालय सहयोगी गरी सातजना कर्मचारीको व्यवस्था गरेको छ । अस्पतालमा विभिन्न विधाका गरी १८ जना कर्मचारी कार्यरत रहेका छन् ।




