
चुक्तीखोला मोटरेबल पुल : तीन महिनामै ५० प्रतिशत काम सम्पन्न
प्रतीक्षा आले ।
पालुङटार नगरपालिका ९ सेरास्थित चुक्तीखोला मोटरेबल पुल निर्माणको काम सुरु भएको तीन महिनाभित्रै ५० प्रतिशत काम सम्पन्न भएको छ । गोरखाको अमृत कन्स्ट्रक्सनले गत असारमा जिम्मा लिएको पुल निर्माणको काम भदौबाट सुरु भएको थियो ।
३ करोड ४१ लाख ४२ हजारमा पुल निर्माणको सम्झौता भएको पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर मोहन श्रेष्ठले बताए । उनकाअनुसार कार्यालयले ठेकेदार कम्पनीसँग १८ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौँता गरेको थियो । ‘निर्माण कम्पनीले निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न हुनेगरी तिव्र रुपमा काम अघि बढाएको छ’, उनले भने, ‘अहिलेकै गतिमा काम हुने हो भने अबको २–३ महिनाभित्र पुल बन्छ ।’
पुलको दुवैतर्फ पिल्लर उठिसकेको र हाल तटबन्ध लगाउने र स्ल्याब हाल्ने काम भैरहेको उनले जानकारी दिए । पुलको लम्बाइ २० मिटर र चौडाइ ८.४० मिटर रहने उनको भनाई छ । पालुङटारको तल्लो सेरा र माथिल्लो सेरा जोड्ने चुक्तीखोला पुल निर्माण सम्पन्न भएसँगै आवतजावत गर्न सहज हुने त्यहाँका स्थानीयहरु बताउँछ ।
यसअघि पक्की पुल नहुँदा सेराका बासिन्दाहरु काठे पुल हालेर आजतजावत गर्न बाध्य थिए । बर्खाको बेलामा विद्यार्थीहरुलाई विद्यालयसम्म पुग्न पनि कठिनाई हुने गरेको स्थानीयबासीको गुनासो थियो । मोटरेबल पुल बनेपछि आवतजावतसँगै कृषि सामाग्री ढुवानी गर्न पनि सहजहुने बताइएको छ ।




