
कार्तिक २० गतेबाट कृषि, पर्यटन तथा व्यापार प्रबद्र्धन मेला हुने
गोरखा चेम्वर अफ कमर्सले यही कार्तिक २० गतेबाट कृषि, पर्यटन तथा व्यापार प्रबद्र्धन मेला आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै चेम्बरले मेलाको बारेमा जानकारी गराएको हो ।
जिल्लामा उत्पादित स्थानीय कृषिजन्य उपज, साना तथा मझौला उद्यम र साँस्कृतिक विविधतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष रामस्वरुप श्रेष्ठले बताए । मेलामार्फत जिल्लाको कृषक, उद्योगी, व्यवसायी, पर्यटक र उपभोक्ता बीच प्रत्यक्ष सहकार्य र सम्बन्ध बिस्तार हुने उनले जानकारी दिए । मेलालाई व्यवस्थापन गर्न विभिन्न १५ वटा उपसमितिहरु गठन गरिने उनले बताए । मेलाबाट जिल्लाका उत्पादित विभिन्न कृषिजन्य उत्पादनहरुको प्रबद्र्धन, बजार विस्तार हुनुका साथै जिल्लाको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा हुने मेलामा करिव एकसय ५० वटा स्टल रहने उनको भनाइ छ । ‘मेला स्थलभित्र कृषि उपज, घरेलु उत्पादन, हस्तकला, प्रविधि, पर्यटन तथा सेवा क्षेत्रका वस्तु र जानकारी प्रदर्शन गरिनेछ’, श्रेष्ठले भने, ‘बाल उद्यान, खेल मनोरञ्जन पिङ आदि रहने छन् । मेलमा कृषि उपज, घरेलु उत्पादन, हस्तकला, प्रविधि, पर्यटन तथा सेवा क्षेत्रका बस्तु प्रदर्शनी तथा जानकारी प्रदान गरिनेछ ।’ ३० हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलामा करिव चार करोडको आर्थिक कारोबार हुने बताइएको छ । कात्तिक २० गतेदेखि ३० गतेसम्म आयोजना हुने मेला हरेक दिन बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुनेछ ।
मेला स्थल प्रवेशका लागि आयोजकले एकसय रुपैयाँ टिकट शुल्क तोकेको छ । अपाङ्गता भएका, विद्यार्थी र जेष्ठ नागरिकलाई भने ५० प्रतिशत छुट दिइने बताइएको छ । मेला संचालनका लागि स्थानीय तह र प्रशासनबाट अनुमति समेत लिइसकिएको चेम्वरले जनाएको छ ।




