| बुधबार, असार ९, २०८३

कुखुरा फर्मले बस्ती दुर्गन्धित भएको च्याङ्ली अवण्डाबासीको गुनासो

पालुङ्टार नगरपालिका ७ अवण्डामा सञ्चालित कुखुरा फर्मले बस्ती दुर्गन्धित बनाएको स्थानीयबासीले गुनासो गरेका छन् । मस्र्याङ्दी किनारमा सञ्चालित पालुङ पोल्ट्री एण्ड फिसरीबाट निस्केको प्रदुषणले अबण्डा तथा मझुवा बस्ती दुर्गन्धित भएको स्थानीयको गुनासो छ ।

सो फर्ममा डेढलाखभन्दा धेरै लेयर्स कुखुरा पालिएको छ ।

‘मध्यराततिर दुर्गन्ध बढेर सुतिसक्नु हुन्न’, स्थानीय हितमाया विक भन्छिन्, ‘दिउसो घाम लागेपछि यति माखा लाग्छ कि, यहाँको रुखपात, झारबुटा कालै हुन्छ । आँगन, पिँडी पूरै माखैमाखाले भरिन्छ ।’ बेलाबेला भन्सारदेखिका मान्छे पनि ‘गन्हायो’ भन्दै कराउँदै आउने गरेको उनले बताइन् ।

फर्मबाट निस्केको कुखुराको सुली मस्र्याङ्दीमा बगाइदिने गरेकाले नदीको पानी पनि प्रदुषित हुने गरेको अर्की स्थानीय देउमाया नेपालीको गुनासो छ । ‘हाम्रो गाईबस्तुले पानी खाने पनि त्यहीँ तल मस्र्याङ्दीमा हो । हाम्रो गाउँमा खानेपानी ल्याएको पनि मस्र्याङ्दी किनारबाटै हो । त्यस्तो सुली लतत बगेको पानी खुवाउनु पर्छ । कहिलेकहीँ बस्तु लिएर पानी खुवाउन लैजादा पानीमा सुली ढोल्दिँदा रहेछन् ।

पानीमा हुतुतु सुली बगिरहेको हुन्छ । त्यहीँ तल बिमलनगरसम्म कालो पानी बग्छ’, उनले भनिन्, ‘चोखो पानीको कुरा छोडिदिनु न । हामीले त मस्र्याङ्दी किनारको पानी मोटरले तानेर खाने हो । भन्न त फिल्टर गरेर ल्याछ भन्छन्, तर त्यसकै रस त मिसिन्छ नि । यस्तो फोहर पानी खानु परेको छ ।’ आफूहरुको मरनघाट पनि त्यही, गाईबस्तुलाई पानी खुवाउने घट्टा पनि त्यही भएकाले कुखुरा फर्मको फोहरले समस्या बनाएको उनको गुनासो छ । ‘सँधै त्यही बाटो हिड्नु पर्छ । लतत… सुली हुन्छ । हिडिसक्नु नि छैन, टेकिसक्नु नि छैन’, नेपाली भन्छिन्, ‘यस्तो फोहर नगर भनेर जति भन्दा पनि लाग्दैन ।’

सो फर्ममा स्थानीय १४ जना महिला र नौ जना पुरुषले रोजगारी पाएका छन् । रोजगारी पाएपनि पैसाको लोभमा चुप बस्न नसक्ने स्थानीयको दाबी छ । ‘जागिर नदिएको त होइन दिएको छ तर ज्यानभन्दा ठूलो जागिर होइन । जागिर नदिए नदिओस्, फोहर गर्न त भएन नि’, हितमाया विक भन्छिन्, ‘त्यहाँ जागिर खानेहरु पनि दुर्गन्ध फैलाएको बिरोध गर्छन् ।’ दुर्गन्ध हटाउने मेसिन प्रयोग गर्नुपर्ने उनको माग छ ।

पालुङ पोल्ट्री फिसरीको फोहरले हैरान भएपछि गाउँलेहरुले वडा नं. ७ को कार्यालय, नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी गरेका थिए । जिल्लाबाट अनुगमन टोली गएर अनुगमन पनि गरेको थियो, तर समस्या समाधान भएको स्थानीय भोजराज नहर्की बताउँछन् । ‘बाहिर निस्किनै नसक्ने गरी दुर्गन्ध आउँछ । रुखै कालै भएर झिँगा आउँछ’, नहर्की भन्छन्, ‘साहु आएका बेला टोल विकास संस्था, आमा समूहहरुले कराउँछन् । यहाँ कराउञ्जेल नयाँ मेसिन राख्छु भनेर जान्छन् फर्केर गएपछि बिर्सिन्छन् ।’ गन्ध न्यूनिकरण गर्ने उपकरण जडान गर्नुपर्ने गाउँलेहरुको माग छ ।

मस्र्याङ्दी पारि पनि यस्तै ठूला फर्महरु छन्, तर त्यहाँ कस्तो मेसिन राखेको छ कुन्नि, बाहिर कत्तिपनि गन्ध आउँदैन’, उनी भन्छन्, ‘हाम्रो यहाँचाहिँ लापार्बाही गरेर प्रदुषण बढेको हो ।’ स्थानीयको माग अनुसार दुर्गन्ध कम गर्ने उपकरण जोड्नु पर्ने उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस्