| बुधबार, असार ९, २०८३

बिभिन्न माग राख्दै गोरखा अस्पतालका नर्सहरु आन्दोलनमा

सरकारले तोकेको पारिश्रमिक लगायतका मागहरु राख्दै गोरखा अस्पतालका नर्सहरुपनि आन्दोलनमा उत्रिएका छन् ।

‘न्यायगत तलव–हाम्रो सम्मान, हाम्रो सेवा’, ‘नर्सको श्रम शोषण बन्द गर’, ‘नर्सलाई नेपालमै बस्ने वातावरण सिर्जना गर’ लगायतका नारा लेखिएका प्ले कार्डसहित शुक्रवार अस्पताल परिसरमा उनीहरुले प्रदर्शन गरेका छन् । बिहान १० देखि १२ बजेसम्म नर्सिङ सेवा बन्द गरेर प्रदर्शन गरिएको नर्सिङ अफिसर रिना थापाले बताइन् ।

‘नर्सिङ एसोसियसनले देशव्यापी रुपमा आन्दोलन गरिरहेको छ,’ उनले भनिन्, ‘त्यसकै समर्थनमा आजबाट हामी पनि आन्दोलनमा उत्रिएका हौ ।’ आन्दोलन स्वरुप १८ गतेसम्म बिहान १० देखि १२ गतेसम्म नर्सिङ सेवा बन्द गर्ने उनले बताइन् । नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो ।

सरकारी मापदण्डअनुसार नर्सको न्यूनतम पाँचौं तहको तलब ३४ हजार ७३० रूपैयाँ र वरिष्ठ पाचौं तहको ३७ हजार ७४३ रुपैयाँ तोकिएको छ । तर तोकिएको भन्दा कम तलव पाएको नर्सहरुको गुनासो छ ।

जोखिम भत्ता पाउनुपर्ने, सार्वजनिक बिदाको दिन ड्यूटी गर्दा छुट्टै सेवासुविधा हुनुपर्ने, रातको समयमा ड्यूटी गर्दा भत्ताको व्यवस्था हुुनुपर्ने लगायतका माग उनीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्