| बिहिबार, असार १०, २०८३

बुबाको किरिया बस्दै १५ बर्षकी करुणा

बुढेसकालमा लालनपालन गर्न र मृत्यूपछि काज किरिया गर्न छोरा नै चाहिन्छ भन्ने अन्धकथनलाई चुनौति दिँदै गोरखाकी एक बालिकाले बुबाको अन्त्यष्टि गरी किरिया बसेकी छिन् । गोरखा नगरपालिका ७ बतासेकी १५ बर्षकी करुणा रायमाझी बुधबार मृत्यू भएका पिता रामचन्द्र रायमाझीको दाहसंस्कार गरी किरिया बसेकी हुन् ।

मृतक बुबालाई मस्र्याङ्दी र दरौंदीको दोभान(रामशाहघाट)मा दागबत्ति दिएर दाहसंस्कार गरेलगत्तै फर्केर उनी स्वेत वस्त्र धारणा गरी बुबाको किरियामा बसेकी हुन् ।

करुणा रामचन्द्रकी एक्ली सन्तान हुन् ।

उनले बिहिबार रीतभातअनुसार दोस्रो दिनको काजकिरिया गरेकी छिन् । १३ दिनसम्मको अन्तिम संस्कार गर्ने करुणाको भनाइ छ । ‘४५ दिनको र बर्ष दिनको कर्म पनि म आफै गर्नेछु’, उनले भनिन् । दाहसंस्कार र दुई दिनसम्मको किरिया प्रक्रियामा कुनै दुख अनुभव नगरेको उनको भनाइ छ । ‘बुबा बित्नु भएको छ । मनमा दुख त छँदैछ, तर हिजो दाहसंस्कार गर्दा र अहिले किरिया गरिरहँदा जे जति काम गरेँ, त्यसमा कुनै गाह्रो लागेको छैन’, उनले भनिन्, ‘यही काम छोरा भएको भए पनि गरिहाल्थ्यो । मैले किन अप्ठेरो मान्ने ?’ छोरा र छोरीमा कुनै भेद नभएको उनको तर्क छ ।

४९ बर्षका रायमाझीको मृत्यूपछि उनका सहोदर भाइ काजकिरिया बस्नका लागि तयार भएका थिए । ‘काकाले म गर्छु भन्नुभएको थियो तर मलाई आफ्नो बुबाको अन्त्यष्टि र किरिया आफै गर्न मन लाग्यो । म आफै गर्छु भनेको थिएँ । आफन्त, छरछिमेक सबैले हुन्छ भनेर सहमति दिनुभयो’, उनले भनिन्, ‘दुई दिन भयो किरिया बसेका छु । छोराले गर्ने कर्म छोरीलेचाहिँ किन गर्न नसक्ने भन्ने लाग्छ । छोरीले पनि छोरासरह कर्तव्य गरे छोरी जातिको पनि महत्व बढ्छ ।’ बुबाको किरिया गर्ने आफूले अकस्मात निर्णय गरेको उनको भनाइ छ । ‘यो बारेमा मैले कहिल्यै सोचेको पनि थिइन । यसो गर्नुपर्छ भनेर मलाई कसैले सिकाएको पनि होइन । यो भन्दा पहिले कतै छोरीले किरिया बसेको भनेर थाहा पनि थिएन’, उनी भन्छिन्, ‘मेरो भाइ पनि छैन, दाइ पनि छैन । मैले नगरे कसले गर्छ त भन्ने कुरा मनमा आयो अनि मै गर्छु भनेँ । सबैले हुन्छ भन्नुभयो । अनि गरेँ ।’

सेतोवस्त्र धारणा गरेर किरिया बसेकी उनले कपाल भने खौरिएकी छैनन् । पुरोहितको सल्लाह, सुझावअनुसार कपाल व्यवस्थित गरी कर्म गरेको उनको भनाइ छ ।

करुणा दुई बर्षकी हुँदा आमाको मृत्यू भएको थियो । हजुरआमाको लालनपालनमा उनी हुर्केकी थिइन् । उनी अहिले स्थानीय नवज्योति मावि डण्डीडाँडामा कक्षा नौ पढ्दैछिन् । धेरै नबोल्ने करुणा बोलेको कुरा पूरा गरिछाड्ने आँटिली छात्रा रहेको उनका छिमेकीसमेत रहेका सो विद्यालयका शिक्षक सुमन ज्ञावली बताउँछन् । ‘अहिले बुबाको किरिया गर्ने क्रान्तिकारी आँट गरेकी छिन् । यो धेरै प्रसंसनीय काम हो’, शिक्षक ज्ञावलीले भने, ‘गाउँटोलमा सबैले उनको हिम्मतको प्रसंसा गरेका छन् ।’ समाज रुपान्तरणका लागि उनको हिम्मत उदाहरण भएको ज्ञावलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्