| बुधबार, असार ९, २०८३

प्रयोग नभै थोत्रियो भूकम्पपीडितको भवन

झट्ट हेर्दा अपार्टमेण्ट, सपिङमल तथा कर्पोरेट टावरजस्तो देखिने यो बंगला कुनै देशी, विदेशी सहरको नभै पालुङ्टार नगरपालिकाको एउटा कुना बिरुवाटारको हो । बिरुवाटार पालुङ्टार ७ मा अवस्थित आठ, दस घर रहेको सानो स्थानीय बजार हो । यहाँबाट सातसय मिटर दक्षिण पूर्व कच्चीबाटो गएपछि पूर्नेपिपल भन्ने गाउँ आउँछ, त्यहीँ ठडिएको अलिशान हबेली हो यो ।
२०७२ सालको भूकम्पपछि घरबासबिहिन भूकम्प पिडितहरुलाई आश्रय दिने उद्देश्यले निर्माण गरिएको यो हवेली नौ बर्षदेखि रित्ताको रित्तै छ । करिब सात रोपनी सार्वजनिक जमिन चर्चेर ३१ करोडको लागतमा निर्माण गरिएको यी भीमकाय भवन अहिले माकुराको जालो र झाडीभित्र थोत्रिरहेको छ ।

‘यहाँ घरबासबिहिन भूकम्पलाई राख्न भनेर बनाइएको हो तर भूकम्प पीडितहरु बस्न नमानेपछि एकदिन पनि प्रयोग भएन’, वडाअध्यक्ष अर्जुन कुमाल भन्छन्, ‘नौ बर्ष भयो यो भवन रित्ताको रित्तै छ ।’ घरबासबिहिन भूकम्पपीडित प्रति परिबार दुई कोठाका दरले उपलब्ध गराउने भनिए पनि सुविधा सम्पन्न भवन यति लामो समय प्रयोगविहिन भएको उनको भनाइ छ ।

यहाँ पाँच तला भएका भीमकाय चारवटा भवनहरु छन् । तारबार गरेर कम्पाउण्डिङ गरिएको छ । ‘पाँच–पाँचतले चारवटा भवन छन् । सबै गरेर यहाँ १२० वटा कोठा छन् । विजुली, पानी, सौचालय, सबै सुविधासम्पन्न छन्’, वडाअध्यक्ष कुमाल भन्छन्, ‘भूकम्प पीडितलाई राख्ने भनिएको थियो, तर खेतबारीको काम गरिखाने भूकम्प पीडित यहाँ बासमात्र दिएर बस्न मानेनन् । गरिखाने जग्गा जमिन पनि चाहिन्छ, आफ्नो टोल, संस्कृति, परम्परा,गाउँ समाज छोडेर यहाँ आएर बस्न मानेनन् ।’

भूकम्प पीडित बस्न नमानेपछि यसलाई कसरी प्रयोग गर्ने भन्ने विषय अनिर्णित हुँदा यी भवनहरु नौ बर्षदेखि थोत्रिएका छन् । महलभित्र पस्ने गेट खुल्लै छ, तर भवन झाडीले ढाकेकाले भित्र छिर्न मुस्किल छ । ठूला लाइटिङ् सिस्टमहरु बेस्याहार छन् । स्याहार सम्भारको अभावमा कतै घामपानीले रङ खुइलिएका छन् ।

स्थानीय नेताहरुले कुनै भाषणमा यहाँ कृषि क्याम्पस चलाउने भन्छन्, कसैले नगर अस्पताल बनाउने भनेर झ्याली पिटाउँछन् । कसैले सिटिईभिटीले एचए पढाउने मेडिकल कलेज बनाउने हल्ला पिटाएका छन् । पछिल्लो समयमा यसलाई सशस्त्र प्रहरी स्कूल बनाउने हल्ला चलेको छ ।

‘पछिल्लो चरणमा यहाँ सशस्त्र प्रहरी स्कूल चलाउन दिने भन्ने कुरा भएको छ’, वडाअध्यक्ष अर्जुन कुमालले भने, ‘त्यसो भयो भने हाम्रो वडालाई मात्र होइन, पालिकालाई नै राम्रो हुन्छ ।’ सशस्त्र प्रहरी स्कूल बनाउने भनेर तीन महिनाअघि छलफल भए पनि प्रक्रिया भने केही पनि अघि बढेको छैन ।

‘जसले जे बनाउने भनेर हल्ला गरे नि यसलाई कि अस्पताल बनाए राम्रो, कि गार्मेण्ट उद्योग सञ्चालन गर्न निजी क्षेत्रलाई दिए राम्रो हुन्छ भन्ने लाग्छ’, स्थानीय भरतराज पाण्डे भन्छन्, ‘त्यसो भयो भने स्थानीयले रोजगारी पनि पाउने, स्वदेशी उद्योग पनि फस्टाउने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्