
बेमौसमी वर्षातका कारण धानबालीमा क्षति
मंगलबार बिहानदेखि परेको वर्षाले जिल्लामा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पु¥याएको छ । वर्षाले भित्र्याउन ठिक्क पारेको धानको बाला रुझाएको किसानरुको गुनासो छ ।
बेमौसमी वर्षाले धानबालीलाई असर पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताए । बस्ताकोटीका अनुसार यतिबेला जिल्लाका १० प्रतिशत किसानहरुले धान भित्र्याईसकेका छन् । ४० प्रतिशतले धान काटिसकेको र बाँकी ५० प्रतिशत किसान धान काट्ने तयारीमा रहेको उनले जानकारी दिए ।
‘यो सिजनको मुख्य बाली धान हो । किसानहरु यतिबेला धान भित्र्याउने चटारोमा छन । यस्तो अवस्थामा बेमौसमी वर्षा हुँदा किसानहरुलाई असहजता भएको छ’, उनले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा गोरखामा भारी वर्षा भएको छैन । पाक्दै गरेका र काटेर राखेका धानलाई दुई तीनदिन घाममा सुकाएर भित्र्याउन सकिन्छ ।’ भारी वर्षा भएमा पाक्दै गरेका र काटेर सुकाएका धानलाई समस्या हुने उनले जानकारी दिए । भारी वर्षा भए धान झर्ने समस्या हुनसक्ने उनको भनाइ छ ।
जिल्लाको धान खेती हुने १० हजार १४० हेक्टरमध्य गतवर्ष ९ हजार ५६२ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको थियो । यसबर्ष घटेर ८ हजार ५६५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको कार्यालयले जनाएको छ । गतबर्ष ३९ हजार ९०० मेटिूकटन धान उत्पादन भएकोमा खडेरी र बाँझोपनका कारण यसवर्ष जिल्लामा धानको उत्पादन घट्ने अनुमान कृषि प्राविधिकहरुको छ । बेमौसमी वर्षातका कारण पनि यो वर्ष धानको उत्पादन घट्न सक्ने उनीहरुको भनाई छ । गोरखामा किसानहरु रामधान, साबित्री, सुख्खा २ जस्ता उन्नत जात र हाईब्रिडमा च्याम्पियन, युएस ३१२ नामको धान रोपेका छन् ।
साथै, केही स्थानीय जातका धानको बिउहरु पनि रोपेको बताइएको छ । जिल्लाको दरौँदी फाँट, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारीफाँट, दर्बुङफाँट, बोर्लाङफाँट लगायतका ठाउँमा धान उत्पादन धेरै हुने गर्छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा भने धान खेती हुँदैन ।




