| बिहिबार, असार १०, २०८३

पालुङटार नगरपालिकाले किन्यो आइरन चक्की

अभावमा गुज्रिएको दुई महिनापछि पालुङ्टार नगरपालिकाले आइरनचक्की खरिद गरेको छ । गर्भवती महिलाहरुले नियमित रुपमा सेवन गर्नुपर्ने आइरन चक्की नगरपालिकाभर दुई महिनापछि बल्ल खरिद गरेको स्वास्थ्य शाखामा कार्यरत कृष्ण अधिकारीले बताए ।
‘हाल आइरन चक्की खरिद गरेर नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरुमा पठाइसकेका छौँ’, उनले भने, ‘विषेशगरी गर्भवती महिलाहरुलाई मात्र लक्षित गरेर आइरन चक्की किनेर पठाएका हौँ । बिस्तारै सामुदायिक विद्यालयहरुको कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरुका लागि पनि आइरन चक्की वितरण कार्यक्रम पनि सुरु गर्छौँ ।’ आइरन चक्की कसले खरिद गर्ने भन्ने बारे संघ र प्रदेश सरकारले दुविधा उत्पन्न गरेका कारण पालिकामा लामो समयसम्म आइरन चक्की अभाव भएको अधिकारीले बताएका छन् ।
सरकारले नागरिकहरुलाई निशुल्क रुपमा प्रदान गर्ने ९८ प्रकारका औषधीमध्य कतिपय संघ सरकारबाट, कतिपय प्रदेश र कतिपय स्थानीय तह आफैले किन्नुपर्ने प्रावधान छ । जसमध्य आइरन र क्याल्सियम चक्की संघीय बजेटबाट स्थानीय तह आफैले किन्नुपर्ने हुन्छ । तर, बिगतमा आइरन र क्याल्सियम चक्की संघबाटै आइरहेको अवस्था थियो । तीन–चार महिनाअघि मात्र संघले यी औषधीहरु पठाउन नसक्ने र स्थानीय तहहरु आफैले व्यवस्थापन गर्नुपर्ने भनेर सूचना जारी गरेको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले बताएका छन ।
संघ र प्रदेशले समयमै सूचना जारी नगरेका कारण पालिकामा औषधी अभाव भएको र भर्खरै औषधी खरिद गरिसकेको पालिकाको स्वास्थ्य शाखाका कृष्ण अधिकारी बताउँछन् । पालिकामा आइरन चक्की नहुँदा सेवाग्राहीहरुलाई बजारकै औषधी पसलबाट किनेर खान सुझाव दिएको उनले जनाए । पालिकाभर आइरन र क्याल्सियम चक्की खरिद गर्न वार्षिक ६० देखि ७० हजार रुपैँया खर्च हुने उनको भनाइ छ । उनी भन्छन्, ‘रकम त ठूलो होइन, कुन निकायले खरिद गर्ने भन्नेबारे अन्योल भएकाले केही समय अभाव भएको हो ।’

प्रतिक्रिया दिनुहोस्