
मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु
उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन सुरु भएको छ । हिमाली भेगमा केहीदिनदेखि करु काट्ने सिजन सुरु भएको चुमनुब्री गाउँपालिका वडा नं. २ ल्होका साङ्गेदोर्जे लामाले जानकारी दिनुभयो ।
३१०० मिटर उचाइमा रहेको नुब्री उपत्यकामा अहिले किसानहरु धमाधम करु काट्न थालेका उहाँले बताउनु भयो । ‘हाम्रो मुख्य बाली करु र आलु हो’ लामाले भन्नुभयो, ‘अहिले करु भित्र्याउने सिजन सुरु भएको छ । हामीलाई बिहानैदेखि करु काट्न भ्याइनभ्याइ छ । आलोपालो अर्मपर्म गरेर करु भित्र्याउने गर्छौँ ।’
करु साउनमा र चैतमा रोप्ने गरिन्छ । ‘उच्च हिमाली हावापानीका कारण तीनहजार मिटरभन्दा माथि बर्षमा दुई पटकमात्र खेतीबाली लगाइन्छ’, लामाले भने, ‘चैतमा लगाएको करु असारमा काटिन्छ, फेरि साउनमा लगाएर कात्तिकमा काटिन्छ । सँधै उही बाली लगाइरहनु हुँदैन भनेर आलोपालो गरेर कहिले मकै कहिले आलु लगाउँछौँ ।’
करु चम्पा(सातु), खोले र ढिडो बनाएर खानका लागि प्रयोग गर्ने गर्छन् । उच्च हिमाली भेगको करु स्वादिलो, पोषिलो हुनेहुँदा काठमाडौँ बस्नेहरुले पनि झिकाएर प्रयोग गर्ने गाउँलेहरुको भनाइ छ ।




