| सोमवार, साउन ३, २०८३

अहिलेको सरकार अरु कामभन्दा चुनाव गराउन केन्द्रित होस् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई अन्य कामभन्दा चुनाव गराउनेतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । आइतवार गोरखा सदरमुकाममा पत्रकार भेटघाट गर्दै उनले चुनावको वातावरण सृजना गर्नु अहिलेको सरकारको मुख्य काम रहेको बताए ।

‘यो अन्तरिम सरकारले अरु धेरै कुरा गर्छु भन्नु भन्दा चुनावी माहोल बनाउने तिर ध्यान केन्द्रित गरोस्,’ उनले भने । सम्पूर्ण सुरक्षा संयन्त्र र प्रशासन संयन्त्रलाई चुनाव केन्द्रित गराउने जिम्मा गृहमन्त्रीको रहेको भन्दै उनले थपे, ‘मैले अहिले गृहमन्त्रीलाई तोकेर केही धेरै भन्न चाहन्न तर सुरक्षा संयन्त्र र प्रशासन संयन्त्र सबैलाई चुनाव केन्द्रित गराउने जिम्मा गृहमन्त्री जि कै छ त्यसैले अरु कुरामा ध्यान दिनुभन्दा चुनाव गराउन केन्द्रित हुुनु उचित हुन्छ ।’ तोकिएको समयमा शान्तिपूर्ण र निष्पक्ष रुपमा चुनाव सम्पन्न गराउनुपर्ने अहिलेको आवश्यकता रहेको उनले जिकिर गरे ।

चुनावमा सहभागी नहुने बताउँदै आएको एमाले पनि चुनावमा जान तयार रहेको उनले दावी गरे । भने, ‘एमाले हिजोसम्म चुनावमा नजाने भन्ने थियो तर हिजोबाट चुनाव नै हो भन्न थालेको छ ।’ पार्टी एकताको प्रसँगमा बोल्दै प्रचण्डले छलफल चलिरहेको तर निर्णय भइनसकेको बताए । एकता हुन नदिन केपी शर्मा ओली लागि परेको उनले आरोप लगाए ।

‘यो एकता नहोस् भनेर केपी ओलीलाई छटपटी भएर सबैतिर फोन गर्दै उल्टोपाल्टो भन्ने गर्नुभएको छ,’ उनले भने, ‘एकीकृत समाजवादीलाई मोआवादी र प्रचण्डसँग आत्मसमर्पण गरिसके, झोलितुम्लो बाकेर प्रचण्डकोमा गए भनेर उहाले ह्यूमिलेट गर्न खोज्नुभएको छ । यता प्रचण्डले झण्डा चुनाव चिन्ह सबै छाड्यो भनेर उत्तेजित पार्न खोज्नुभएको छ ।’ एकताका लागि एकीकृत समाजवादी लगायतका दलहरुसँग छलफल भएपनि ठोस् निर्णय नभएको उनले जानकारी गराए ।

चुनाव चिन्ह र पार्टीको नामको बिषयमा पनि निर्णय भइनसकेको उनले जिकिर गरे । प्रतिवेदन र बिधान समेत नटुंगिएको उनले बताए । भने, ‘प्रचण्डले आफूलाई ह्यूमिलेट हुने गरी सबै चिज छाडेर किन भाग्नु परेको छ ! अनि माधव जि लाई पनि यता आएर आत्मसमर्पण किन गर्नु परेको छ र ! कसैलाई अपमान गर्ने गरी होइन सम्मानजनक एकता हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्