| शुक्रबार, असार ११, २०८३

बूढीगण्डकी भ्रष्टाचार काण्डको छानबिन होओस् : डा. भट्टराई

पूर्वप्रधानमन्त्री प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बूढीगण्डकीलगायत ठूलो भ्रष्टाचारको छानबिन गर्न माग गरेका छन् । शुक्रबार गृहजिल्ला गोरखाका पत्रकारहरुसंग कुराकानी गर्दै डाक्टर भट्टराईले बिचौलियाको चलखेलमा बूढीगण्डकी कुनै कम्पनीलाई दिने प्रयास भएकाले त्यसको छानबिन हुनुपर्ने माग गरेका हुन् ।

‘बिचौलियाहरुको चलखेलमा नै बूढीगण्डकी आयोजना कुनै कम्पनीलाई दिने निर्णय गरिएको भन्ने कुराको चलखेल थाहा पाउने व्यक्तिबाट नै सूचना पाएको छुँ । त्यसको ठूलो छानबिन होओस्’, उनले भने, ‘त्यो मात्रै होइन, २०६२÷०६३ देखि नै टेलिकम्युनिकेशनसंग सम्बन्धित जुन टेली सोनिरिया भन्ने कम्पनीमा लगानी गर्ने, त्यसलाई नेपाल भित्र्याउने र एनसेल नामाकरण गर्ने, ठूला दलका ठूलो नेताले लेनदेन गरी कर छली गर्ने, त्यसमा उठेका मुद्दामा उन्मुक्ति दिनेजस्ता प्रकरण छन् । वाइडबडी, ओम्नी प्रकरणहरु छन् । सहकारीका त झन् भइनै हाले । जुन ठूला काण्डहरु छन्, त्यसता ठूला भ्रष्टाचारका काण्डहरुमा नामै किटेर वा लगायतका भनेर सत्यतथ्य पत्ता लगाउने र दोषीमाथि कारबाही गर्न आयोग बनाएर काम अघि बढाउनु पर्दछ ।’
यसअघि डाक्टर भट्टराईले बूढीगण्डकी आयोजनामा ठूला तीन दलका तीन ठूला नेताले नौ अर्ब भ्रष्टाचार गरेको र आवश्यक परे आफूले यसबारे बताउने बताउँदै आएका थिए ।

तर गत प्रतिनिधिसभा निर्वाचनमा आफूलाई गलत सूचना आएकाले त्यो आरोप सत्य नभएको बताएका थिए । त्यस विवादास्पद भनाइलाई प्रष्ट्याउँदै उनले भने, ‘बूढीगण्डकी जलविद्युत आयोजना बिचौलियामार्फत लेनदेन गरी विदेशी कम्पनीलाई दिने निर्णय भयो भनेर हामीले आवाज उठाइसकेपछि फिर्ता लिनु भयो र अब नेपालले नै बनाउने भनेर प्रतिवद्धता व्यक्त गर्नुभयो । आफैले बनाउने भनिसकेपछि ल बनाउनू, त्यसलाई धेरै गिजोलिरहनु परेन भनेर हामीले भनेको हो । तर यत्तिका समय बितिसक्दा पनि अघि बढाउनु भएन नि त । यसले बिचौलियासंग मिलेमतो गरी लेनदेनमा विदेशी कम्पनीलाई नै दिने निर्णय गरिएको पुष्टि गर्दछ ।’ बूढीगण्डकी आयोजना आर्थिक लेनदेनमा विदेशी कम्पनीलाई दिइएको उनको निश्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्