| आइतवार, जेष्ठ १६, २०८३

संसद पुनस्थापनाको मुद्दामा अल्झिनुको अर्थ छैन : डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँशक्ति)का संस्थापक डाक्टर बाबुराम भट्टराईले संसद पुनस्थापनाको मुद्दामा अल्झिनुको कुनै अर्थ नरहेको तर्क गरेका छन् । शुक्रबार गोरखाका पत्रकारहरुसंग कुराकानी गर्दै डाक्टर भट्टराईले आन्दोलनको बलमा उत्पन्न विशिष्ट परिस्थितिमा चालिएको कदमको विपक्षमा उत्रिनुको कुनै औचित्य नरहेको बताएका हुन् ।

‘जनआन्दोलनको बलमा उत्पन्न विशिष्ट परिस्थितिमा संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न जुन कदम चालिएको छ, यो अहिलेको आवश्यकता हो । आवश्यकताको सिद्धान्तलाई टेकेर गरिएको निर्णयको विरुद्धमा पर्ने मुद्दाहरुलाई हेर्नु उपयुक्त हुदैन’, उनले भने, ‘संसद पुनस्थापनाले समस्या समाधान गर्दैन, बरु झन गिजोलिन्छ ।’ निहित स्वार्थका लागि सचेत वर्गले समस्या गिजोल्यो भने झन् परिस्थिति बिग्रिने र यसमा अवाञ्छित तत्वहरुले खेल्ने मौका पाउने उनको तर्क छ ।

परिवर्तनकारी जेनजीको आन्दोलनबाट प्राप्त उपलव्धीलाई संरक्षण गर्ने मान्यता आफूले राखेको भन्दै उनले तत्कालका लागि यो सरकारको बिकल्प नरहेको दाबी गरे । ‘संविधानका कमा र फूलस्टप थोरै मिचिए होलान् । एउटा कथन छ, ‘सोसाइटी चेञ्ज फास्टर देन ल’ अर्थात कानूनभनदा छिटो समाज परिवर्तन हुन्छ’, उनले भने, ‘त्यसैले आवश्यकताको सिद्धान्तअनुसार संविधान र कानूनलाई पनि त्यही अनुसार परिभाषित गर्नुपर्दछ । यो सरकारलाई सबै पक्षले सहयोग गर्नुपर्दछ ।’ आन्दोलनकारी शक्ति र राजनीतिक दल संगसंगै जानु अहिलेको आवश्यकता रहेको उनले बताए ।

शक्तिकेन्द्रले जहाँ चर परेको छ, त्यहाँ खेल्न सक्नेतर्फ सचेत गराउँदै उनले अहिले विदेशीशक्तिले राजावादी शक्तिलाई तुरुपका रुपमा प्रयोग गरिरहेको तर्क गरेको छन् । ‘यो, उ नभनौँ, विदेशीशक्तिले जहाँ चर परेको छ, त्यहाँ विभिन्न शक्तिले खेल्ने प्रयत्न गर्छन् । अहिले नेपालमा प्रयोग गर्न सकिने शक्ति भनेको राजावादी शक्ति हो । त्यो शक्ति नेपालमा पुनस्थापना हुन सक्दैन भन्ने पनि उनीहरुलाई थाहा छ, तर एउटा तुरुपका रुपमा प्रयोग गरिराख्ने भनेर प्रयोग गरिराख्छन्’, डाक्टर भट्टराईले भने, ‘त्यसैले उनीहरुलाई मलजल गर्ने काम सचेत पक्षले गर्न हुदैन ।’

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिवन्धको विरोधमा जेनजीले गरेको विद्रोको मौका छोपी अनेकन खेल भएको उनको भनाइ छ । ‘अहिले जे भयो, मुख्यतः दशकौंदेखि परम्परागत राजनीतिक दल र तिनका नेतृत्वले मुलुकमा गरेको चरम भ्रष्टाचारको विरोधमा प्रदर्शन नै हो । त्यसमा पछिल्लो चरणमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिवन्धले मलजल ग¥यो’, उनले भने, ‘यही मौका छोपी एउटा दलले अर्को दल र नेतामाथि आक्रमण गरेको पनि देखियो, असन्तुष्ट पक्षले आफ्नै दल र नेतामाथि आक्रमण गरेको पनि देखियो । राजावादी, वाह्यशक्तिहरुको चलखेल पनि प्रसस्तै देखियो । तर अन्यत्र मोड्नु हुदैन, मुख्यतः विद्रोह जेनजीकै हो ।’

प्रतिक्रिया दिनुहोस्