
प्रचण्डको घरबाट दुई करोड रुपैया ट्रकमा लगेर लुकाइएको भन्नेबिरुद्ध कारवाही गर्न माग
जेनजी आन्दोलनको क्रममा घर जलाउनुअघि दुई करोड रुपैया ट्रकमा लगेर लुकाइएको भनी नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध झुठा आरोप लगाइएको भन्दै योङ कम्युनिष्ट लिग(वाईसिएल) र अनेरास्ववियू (क्रान्तिकारी) ले आपत्ति जनाएका छन् ।
बिहिबार प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै उनीहरुले झूठा र तथ्यहीन प्रचार गर्ने व्यक्तिहरुमाथि निष्पक्ष छानविन गरी तत्काल कारवाही गर्न माग गरेका छन् । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले सामाजिक संजाल तथा बिभिन्न मिडियामार्फत उक्त आरोप लगाएर पार्टी संगठन र नेतृत्वको चरित्रहत्या गर्न खोजेको उनीहरुले बताएका छन् ।
‘यस्ता भ्रम फैलाउनेमाथि कारवाही गर्नुको सट्टा वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष लगायत युवा बिद्यार्थी साथीहरुमाथि झुठा आरोप लगाई पक्राउको प्रयास गरिनु निन्दनीय र अन्यायपूर्ण छ,’ बिज्ञप्तिमा भनिएको छ । संगठन र नेतृत्वमाथि राजनीतिक प्रतिशोधका आधारमा धम्क्याउने र तर्साउने जस्ता काम नगर्न उनीहरुले ज्ञापन पत्रमार्फत भनेका छन् । यस्ता गतिविधि नरोकिए संयुक्त रुपमा आन्दोलन र प्रतिरोधका कार्यक्रममा उत्रिने उनीहरुले चेतावनी समेत दिएका छन् ।




