| आइतवार, मंसिर १, २०८२

विवाद समाधान भएपछि गोनपा १२ र पानपा ९ जोड्ने सडक सुचारु

जग्गासम्बन्धी किचलो समाधान भएपछि गोरखा नगरपालिका वडा नं १२ र पालुङटार नगपालिका वडा नं ९ जोड्ने दरौँदी पुलसँगैको सडक पुनः सुचारु भएको छ । पालुङ्टार नगरपालिकाका मेयर, उपमेयर, गोरखा नगरपालिकाकी उपमेयर र प्रमुख जिल्ला अधिकारीको रोहबरमा जग्गाधनी, सो जग्गाका बिक्रेता, सो जग्गा सडकका लागि दिन हस्ताक्षर गर्ने व्यक्तिहरुको संयुक्त बैठकमा समझदारी बनेपछि सडक सुचारु भएको हो ।

सडकले चर्चेको जग्गाकी धनी हरिमाया कुमालले यसअघि भोगचलन गरेको अन्यत्र ठाउँकै जग्गाको लालपूर्जा पाउने भएपछि सडक अवरोध हटाइएको हो । १६ बर्षअघि हरिमाया कुमालले त्यहाँ जग्गा किनेर भोग चलन गर्दै आएकी थिइन् । तर अहिले उनले भोग चलन गरेको जग्गा नापी नक्शामा अर्कैको नाममा रहेको र सडकले चर्चेको जग्गा उनको रहेको भनेपछि विवाद चुलिएको थियो । आफूलाई एकातिरको जग्गा देखाएर अर्कोतिरको जग्गा बेचेको र सो ठाउँबाट सडक निर्माण गर्न आफ्ूसंग सहमति पनि नमागिएको भन्दै जग्गा धनीले डोजर लगाएर सडक नष्ट पारेका थिए ।

शुक्रबार सर्वपक्षीय सहमति गरी भोग चलन गरेअनुसारकै जग्गाको लालपूर्जा बनाइदिने सहमतिपछि सडक सुचारु गरिएको हो ।
यसअघि दुवै पालिकाको वडास्तरको मेलमिलाप केन्द्र तथा पालुङ्टार नगरपालिकाको न्यायिक समितिमा समस्या समाधानका लागि प्रयास गर्दा समाधान भएको थिएन । समस्या समाधान नभएपछि बाध्य भएर सो सडक अबरोध गर्नुपरेको जग्गाधनी तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्