
रातो बंगला स्कूलद्वारा गोरखाका ३६ विद्यालयमा बाल विकास कार्यक्रम
रातो बंगला स्कूलले गोरखाका ३६ वटा सामुदायिक विद्यालयमा बाल विकास कार्यक्रम लागु गरेको छ । ललितपुरमा सञ्चालित सो स्कूलले बिगत चारबर्षदेखि भीमसेन थापा गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुमा बालविकास कार्यक्रम सञ्चालन गरेको हो ।
शनिबार रातो बंगला स्कूलका प्रतिनिधिहरु, भीमसेन थापा गाउँपालिकाका जनप्रतिनिधिहरु, सबै विद्यालयका व्यवस्थापन समिति, प्रधानाध्यापक तथा बालविकास कार्यक्रमका शिक्षक सहजकर्ताहरु सम्मिलित भेलामा तीनबर्षे प्रगति प्रतिवेदन पेश गरिएको थियो ।
भेलामा पालिकाका शिक्षा शाखा प्रमुख, अभिभावक, शिक्षक सहजकर्ता, व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरुले बाल विकास कार्यक्रमले ग्रामीण भेगका बालबालिकाले पनि रातो बंगला स्कूलका बालबालिकाले सरह सिकाइ सेवा पाएका भन्दै खुशी व्यक्त गरेका थिए । साथै उनीहरुले यस कार्यक्रमलाई दीगो रुपमा सञ्चालन गर्न अनुरोध पनि गरेका थिए ।
रातो बंगलाले ३६ सामुदायिक विद्यालयका ५३ जना सहजकर्तालाई बालबालिकालाई सही सिकाइ गर्ने तौर तरिका, बदलिँदो समय सुहाउँदो वैज्ञानिक विधिका बारेमा प्रशिक्षित गर्ने, समय–समयमा पुनर्ताजगी तालिम दिने, सघन अनुगमन तथा पृष्ठपोषण गर्ने र कक्षा कोठा व्यवस्थापन गर्ने गरेको छ ।
रातो बंगला स्कूलकी निर्देशक शान्ता दीक्षितले पूर्व प्राथमिक तहका बालबालिकाका लागि तीन बर्षे कार्यक्रम सम्पन्न भए लगत्तै प्राथमिक तहका बालबालिकाका लागि पाँच बर्षे सार्थक बाल सिकाइ कार्यक्रम लागु गरिएको जानकारी दिइन् । अर्का निर्देशक प्रवीण राणाले आफ्ना अभिभावकहरुबाट संकलित कोषबाट ग्रामीण भेगका बालबालिकाको सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे ।
रातो बंगला स्कूलले अभिभावकबाट लिएको शिक्षण शुल्कको १८ प्रतिशत रकमले कोष स्थापना गरी विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुसंग साझेदारी कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक अर्चना जोशीले जानकारी दिइन् । ‘रातो बंगला स्कूलले स्थापना भएको केही बर्षदेखि नै रातो बंगला साझेदारी कार्यक्रमद्वारा धादिङ, मकवानपुर, दैलेख, ललितपुर र म्याग्दी जिल्लाका सामुदायिक विद्यालयहरुमा लामो अवधिको साझेदारी कार्यक्रम सञ्चालन गरेको थियो’, उनले भनिन्, ‘अहिले ललितपुर, तेह्रथुम, पाँचथर, काठमाडौँ, खोटाङ र गोरखाका १०५ वटा सामुदायिक विद्यालयहरुमा साझेदारी कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’
कार्यक्रममा बोल्दै शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक हरि अर्यालले रातो बंगला स्कूलले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको सेवा गरेकोमा प्रसंसा गरे ।





