| आइतवार, मंसिर १, २०८२

विशेष महाधिवेशन माग गर्दै कांग्रेस गोरखाद्वारा संकलित हस्ताक्षर केन्द्रमा पेश

विशेष महाधिवेशन माग गर्दै नेपाली कांग्रेस गोरखाले संकलन गरेको हस्ताक्षर केन्द्रीय समितिमा बुझाएको छ । गोरखाबाट निर्वाचित अधिकांश महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले शुक्रबार महामन्त्री गगन थापालाई बुझाइएको जिल्ला सचिव किशोरजंग थापाले जानकारी दिए ।

गोरखाका ५२ जना महाधिवेशन प्रतिनिधिमध्य ४२ जनाले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेको थापाले बताए । क्षेत्र नं. १ का २४ जना र क्षेत्र नं. २ का १८ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।

विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाई महाधिवेशनको माग गर्दै हस्ताक्षर गरे विशेष महाधिवेशन हुनसक्छ ।

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेसमा नीति र नेतृत्व परिवर्तनको माग उठेको छ । पार्टी रूपान्तरण नगरेसम्म चुनावमा जान कठिनाइ हुने नेताहरूको भनाइ छ ।

अहिले गोरखा लगायतका जिल्लाहरुबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं गएर हस्ताक्षर बुझाउने काम गरिरहेका छन् । देशभरिमा विशेष महाधिवेशन माग्न हस्ताक्षर गर्नेहरू ५० प्रतिशत पुगिसकेको छ ।

असोज २६ देखि सुरू हुने केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी छ । महामन्त्री गगन थापाले यो केन्द्रीय समितिको म्याद थप गर्ने प्रस्ताव आफूले केन्द्रीय समितिमा नलैजाने बताएका छन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला पक्षका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्