
जग्गा विवादका कारण गोरखा र पालुङटार जोड्ने सडक खनेर नष्ट
प्रतीक्षा आले ।
जग्गा विवादका कारण गोरखा नगरपालिका वडा नं १२ र पालुङटार नगपालिका वडा नं ९ जोड्ने दरौँदी पुलसँगैको सडक खनेर नष्ट पारिएको छ । आफ्नो जग्गा सडकले चर्चेको भन्दै जग्गाधनीले उक्त सडक डोजर प्रयोग गरी खनेर नष्ट पारेका हुन् । खनेर नष्ट पारेपछि सो सडकमा यातायात अवरुद्ध बनेको छ ।
आफ्नो जग्गामा सडक बनाउन नदिने भन्दै स्थानीय जग्गाधनी हरिमाया तामाङले सडक नष्ट गरेका गोरखा नगरपालिका वडा नं १२ का वडाअध्यक्ष दिलबहादर थापाले बताए ।
सडक नष्ट हुँदा गोरखा नगरपालिका वडा नं १२ का बासिन्दा र पालुङटार नगरपालिका वडा नं ९ र १० का स्थानीयबासीलाई आवतजावतमा समस्या परेको उनले जानकारी दिए । ‘जग्गावालाले आज (बिहिबार) जेसिभी लगाएर सडक नष्ट गरेका छन् । सडक नहुँदा स्थानीयबासीहरुलाई आवतजावतमा समस्या परेको छ’, उनले भने, ‘स्थानीयहरुसँग बसेर विवाद मिलाउने तयारी भैरहेको छ ।’
जग्गा पालुङटार नगरपालिका वडा नं ९ निवासी हरिमाया तामाङको रहेको र तामाङले नै हाल जेसिबी लगाएर सडक नष्ट गरेको पालुङटार नगरपालिका वडा नं ९ का वडाअध्यक्ष भेजराज पाण्डेले बताए । ‘सडकले चर्चेको जग्गा तामाङले यहीँका रुद्रबहादुर कुमालसँग किन्नुभएको रहेछ । तर, अहिलेसम्म पनि जग्गा कित्ताकाट भने भएको रहेनछ’, वडाअध्यक्ष पाण्डेले भने, ‘हामीले ५–६ वर्ष अगाडि यहाँ सबै स्थानीयहरुको सहमतिमा मोटरेबल पुल बनायौँ । सडक पनि खनेर ग्राभेल ग¥यौँ । अहिले आएर हरिमायाले किनेको २ रोपनी जग्गा सबै सडक बाटोभित्र परेछ । त्यसैले उहाँले बाटो अबरुद्ध गर्नु भएको छ ।’ गल्ती दुवै पक्षको रहेको उनले बताएका छन् ।
‘रुद्रबहादुर कुमालले जग्गा बेच्दा अमिन ल्याएर राम्रोसँग कित्ताकाट गर्नुपथ्र्यो । हरिमाया तामाङले पनि त्यत्रो पुल बन्दा, सडक खन्दा आफ्नो जग्गा कहाँनेर पर्छ भनेर चासो देखाउनु पथ्र्यो’, उनले भने । आफूहरुले सबै स्थानीय र जग्गावालासँग सहमति गरेर सडक निर्माण गरेको वडा अध्यक्ष पाण्डे बताउँछन् । उनी भन्छन्, ‘उहाँहरुको आपसी लेनदेन बिग्रदाँ राज्यको त्यत्रो लगानी खेर गयो । ग्राभेल गरेको सडकमा जेसिभी लगाएर नष्ट गर्नु भएको छ । अहिले सडक बाटो दिन्न भन्नुभएको छ । त्यही सडक भएर गोरखा र पालुङटार नगरपालिका जोड्ने दरौँदी पुल अवरुद्ध बनेको छ ।’
वडा कार्यालयले दुवै पक्षलाई राखेर जग्गा विवाद मिलाउने प्रयास गरिरहेको पालुङटार–९ का वडाअध्यक्ष भेजराज पाण्डेको भनाइ छ । हाल सडक नहुँदा पालुङटार नगरपालिका वडा नं ९ र १० का बासिन्दा सदरमुकाम लगायत बजार क्षेत्र जान पनि अबुँवाबाट घुमाउरो बाटो अपनाउन बाध्य भएका छन् ।




