| आइतवार, कार्तिक २२, २०८३

दरौँदीको नदीजन्य सामाग्री संयुक्त रुपमा ठेक्का लगाउने सम्झौता

बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिकाको सिमानामा पर्ने दरौँदी नदीको नदीजन्य सामाग्री संयुक्त रुपमा ठेक्का लगाउने सम्झौता भएको छ । बिहिबार बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट र अजिरकोटका अध्यक्ष दिपक देवकोटाले दरौँदी नदी तटको निर्माण सामाग्री संयुक्त रुपमा ठेक्का लगाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

दरौँदी नदीको ढुङ्गा, गिट्टी, बालुवा संयुक्त रुपमा ठेक्का लगाउने सम्झौता भएको बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आले मगरले बताए । साथै, संयुक्त रुपमा राजश्व संकलन गर्ने सम्झौता भएको पनि उनले जानकारी दिए । ‘दुवै पालिकाले संयुक्त रुपमा राजश्व उठाएर जम्मा उठेको रकमको ५०–५० प्रतिशत दामासाहीले बाँढ्ने सहमति भएको छ’, उनले भने ।

दुई पालिकाहरुले दरौँदी नदीमा यसरी संयुक्त रुपमा ठेक्का लगाउने सम्झैँता गरेको यो तेस्रो वर्ष रहेको उनले बताएका छन् । ठेक्का सम्बन्धी प्रशासनिक कामहरु भने बारपाक सुलिकोट गाउँपालिकाबाटै हुने आलेको भनाइ छ ।

दुई पालिकाको बीचमा विशेषगरी कालिका हाइड्रोको बाँधभन्दा माथि अत्याधिक रुपमा नदीजन्य सामग्री संग्रहित हुने गरेको छ । यसअघि कतिपय बर्ष पटक पटकसम्म ठेक्का लगाउँदा पनि ठेक्का नलागेपछि गाउँपालिका आफैैले निर्माण सामग्री भण्डारण गरी बेच्ने गरेको पनि थियो ।

प्रतिक्रिया दिनुहोस्