| शुक्रबार, बैशाख १७, २०८३

दशैँको बेला गोरखाका २०० सवारी साधान कारबाहीमा, एक लाख ७० हजार राजश्व संकलन

दशैँको अवधिभर जिल्लाका २०० भन्दा धेरै सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार जिल्लाभर ट्राफिक नियम उलङ्घन गर्ने २०० भन्दा धेरै निजी तथा सार्वजनिक सवारी साधनहरु कारबाहीमा परेका हुन् ।
जसबाट एक लाख ७० हजार रुपैँया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका इन्चार्ज प्रहरी नायव निरीक्षक सुरज अर्यालले बताए ।

कार्यालयले घटस्थापनादेखि कोजाग्रत पूर्णिमा (असोज ६ गतेदेखि २१ गते) सम्ममा सिट क्षमताभन्दा बढी यात्रु सवारी गराउने ६१ वटा सवारी साधनहरुलाई कारबाही गरेको छ । उनीहरुबाट ५६ हजार पाँच सय रुपैँया राजश्वसमेत संकलन गरिएको जिल्ला ट्राफिक इन्चार्ज अर्यालले जानकारी दिए । यस्तै कार्यालयले लागतभन्दा बढी भाडा असुली गर्ने चारवटा सवारी साधनहरुलाई समेत कारबाही गरेको छ ।

बढी भाडा असुली गर्ने सवारी साधानहरुलाई कारबाही गरेर यात्रुहरुलाई लागत बाहेकको भाडा फिर्ता गरेको छ । यसैगरी, दशैँ अवधिभर कार्यालयले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने ५ सवारी चालकहरुलाई कारबाही गरेको कार्यालयको विवरणमा उल्लेख छ । यो अवधिमा अन्य ट्राफिक नियमहरु उलङ्घन गर्ने १३० सवारी साधनहरु समेत कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्