
उत्तरी गोरखामा असोजमै हिमपात
पुस, माघ लागेपछि मात्रै हिउँ पर्ने उत्तरी गोरखामा यो वर्ष असोजमै हिमपात भएको छ । हिमालपारि अवस्थित चुमनुब्री गाउँपालिका वडा नं १ साम्दोमा सोमबार हिमपात भएको हो । असोजमै हिमपात भएपछि जनजीवन सामान्य प्रभावित बनेको साम्दोका स्थानीय निमा ग्याल्जेन लामाले बताए ।
‘जाडो मौसममा पर्ने हिउँभन्दा अहिले परेको हिउँ धेरै गह्रुङ्गो हुन्छ । यस्तो हिउँले आलु लगायत बालीमा असर पु¥याउँछ’, उनले भने । हाल बाक्लो हिमपात नभएकाले खेतीबालीमा असर नदेखिएको उनले जानकारी दिए । उनी भन्छन्, ‘आज (मंगलबार) दिउँसोबाट अलिअलि घाम लाग्न थालेको छ । हिउँ बिस्तारै पग्लिँदैछ । अब, मौसम सफा हुने बित्तिकै खेतीबाली भित्र्याउने तयारीमा छौँ ।’ अहिले परेको हिउँ वर्षकै पहिलो हिमपात रहेको निमा ग्याल्जेनको भनाइ छ ।
साम्दो समुद्री सतहबाट ३,८९० मिटर उचाइमा अवस्थित छ । यहाँ आलु र फापर मात्र उत्पादन हुन्छ । साम्दोबासीको मुख्य व्यवसाय पर्यटन हो । हिउँ परेपछि पर्यटक भने उत्साहित भएका छन् ।
मनास्लु आरोहणको सिजन सुरु भएसँगै गाउँमा पर्यटकहरुको चहलपहल समेत बढेको स्थानीयहरुले बताएका छन ।




