| आइतवार, मंसिर १, २०८२

अक्करमा पारेर यात्रुसंग दोब्बर भाडा असुल्दै

दशैं मनाएर गन्तव्यतर्फ फर्कने यात्रुहरुले यातायात सेवा नपाएको समस्या एकातिर छ, अर्कातिर बल्लतल्ल सवारी साधन भेट्नेले झण्डै दोब्बर भाडा तिर्नुपरेको छ ।
नियमित बस पर्खने हरमटारी रोडमा १२ बजेपछि काठमाडौं जाने बस पाइँदैन । यात्रुको भीड लागिरहेको हुन्छ । झण्डै आधाघण्टासम्म बस नआएपछि यात्रुहरु गाडी नपाइने तनाबमा यत्रतत्र भौँतारिरहेका हुन्छन् ।
केहीबेरको अन्तरमा भौँतारिरहेका यात्रुको भीडमा अपरिचित व्यक्ति(एजेण्ट) फुत्त आइपुग्छन् । उनको वरपरि एकैछिनमा यात्रुको घेरा बन्छ । दायाबायाँ हेर्दै ती बसका प्रतिनिधि यात्रु संख्या गन्छन् । निर्देशनात्मक शैलीमा उनी भन्छन्, ‘२० जना पुग्यो । अब धेरै हल्ला नगर्नू, एकछिनमा एउटा माइक्रो आउँछ । त्यसमा भटाभट चढ्नू । भाडाचाहिँ एक हजार हो अहिल्यै भन्दिएको छु ।’ बसको नम्बर भनेर उनी त्यहाँबाट गायब हुन्छन् । केहीबेरपछि त्यहाँ उनले भनेझैँ दृश्य देखिन्छ ।
दृश्य एउटै प्रकृतिको मात्र देखिँदैन । पहिल्यै यात्रुले खचाखच भएर कुनै बस आइपुग्छ । यात्रुमध्यकै एकजनाले बाहिरका यात्रु बोलाउँछन् । उनले नै यात्रुको व्यवस्थापन गरिरहेका हुन्छन् । र भाडामा जोड दिइरहेका हुन्छन्, ‘पछि किचकिच गर्न पाउनुहुन्न है । भाडा एक हजार तिर्नुपर्छ ।’
मुख्यमार्गमा देखै नपरी फोन सम्पर्कबाट छेउकुनाबाट यात्रु भरेर लैजाने दृश्य पनि देखिने गरेको छ ।
गोरखा काठमाडौँ चल्ने बसको नियमित भाडा रु ६०५ हो । तर दशैँ मान्न आएका यात्रुहरुलाई ठग्दै माइक्रोबस सञ्चालकहरुले जनही एकहजार रुपैयाँ लिने गरेका छन् । एक हजार तिरेर पनि गन्तव्यतर्फ जाने सवारी साधन नपाएको यात्रुहरु गुनासो गर्छन् ।
‘हामीसंग भएजति सबै बस बिहानै सक्किसक्यो । अरु रुटको बस पनि पठाइसकेका छौँ’, दरौंदी गोरखा यातायात सेवा प्रालिको माइक्रोबस टिकट काउण्टरका एक कर्मचारी भन्छन्, ‘ठाउँठाउँमा जाम छ । काठमाडौँबाट फर्कने बसहरु फर्केका छैनन् । यताका सबै सिद्धिसके । साहै्र गाह्रो भएको छ ।’
मिनीबस तथा माइक्रोबस सेवा सञ्चालन गर्ने पृथ्वीराजमार्ग बस सञ्चालक सेवा प्रालिका कर्मचारी पनि बस पु¥याउनै नसकेको बताउँछन् । ‘हामीले नियमित नौवटा बस चलाउँछौँ । त्यो पनि सिद्धियो । गोरखा दरौंदीले ६३ वटा माइक्रो पठाइसक्यो । राजधानीमा चल्ने महानगर, मयूरका बसहरु पनि मगाएर चलाएका छौँ । ट्याक्सी उत्तिकै चलिरहेका छन् । त्यति गर्दा पनि धान्न सकेको छैन’, ती कर्मचारीले भने ।
गोरखा काठमाडौँको नियमित टिकट दर ४८० भए पनि मिनीबसहरुले रु सातसयदेखि आठसय रुपैयाँसम्म लिने गरेका छन् ।
बसले यात्रुलाई असजिलोमा पारेर बढि भाडा असुलिरहेको मौकामा ट्याक्सीहरुले पनि महंगो भाडामा यात्रु ओसार्ने मौकाको फाइदा उठाइरहेका छन् ।
सडकमा खटिएका टूाफिक प्रहरी प्रमुख सई सुरज अर्याल पनि यात्रुहरुको सास्ती देखेर आजित छन् । ‘सञ्चालकहरुसंग कुरा गर्दा भएभरका सबै बस चलाइरहेको बताउँछन् । बढि भाडा लिएमा गुनासो गर्नुस् भनेर यात्रुहरुलाई मोबाइल नंबर दिँदा कतैबाट गुनासो आउँदैन । कसरी व्यवस्थापन गर्ने हामी पनि असजिलोमा छौँ’, उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्