| सोमवार, साउन ३, २०८३

तुइनखोला पहिरो प्रभावः गोरखामा खाद्यान्न अभावको जोखिम

मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुइनखोला पहिरोका कारण गोरखामा खाद्यान्न अभाव हुन सक्ने जोखिम बढेको छ । खाद्यान्न लिएर आएका गाडी बाटोमै रोकिएका छन् ।

अझै केही दिनसम्म सडक अवरुद्ध भएमा खाद्यान्न अभाव हुने जिल्लाका व्यवसायीहरुले बताएका छन् । ‘पहिरोले खाद्यान्न आपूर्तीमा समस्या परेको छ,’ खोप्लाङ्गी सप्लायर्सका प्रोपाइटर मनकाजी श्रेष्ठले भने, ‘अहिलेसम्म त धानेको छ, अव एक दुई दिन यस्तै भइरह्यो भने धान्दैन ।’ बिशेषगरी चामल, चिउरा, तेल लगायतका खाद्यान्न अभाव हुन सक्ने उनले जानकारी दिए ।
खाद्यान्न स्टक राख्ने ग्राहक कम भएको भन्दै उनले थपे, ‘यहाँ खाद्यान्न किनेर स्टक राख्ने ग्राहकहरुको खासै बानी छैन, चाहिएको बेला लिन आउने हो । चाडबाड सुरु भएकाले अहिले ग्राहकको चाप छ । अव एक दुई दिनसम्म सामानको गाडी आएन भने अभाव हुने देखिन्छ ।’

ग्यास अभाव हुन थालिसकेको बिएस सप्लायर्सका प्रोपराइटर अनु श्रेष्ठ बताउँछन् । ‘ग्यास करिव करिव सकिने अवस्थामा पुगिसक्यो, आज एक दिन आएन भने भोलिबाट सर्टेज हुन्छ,’ उनले भने । खाद्यान्न लोड भएर आएका गाडी सबै बाटोमै अड्किएका कारण खाद्यान्न अभाव हुन सक्ने जोखिम बढेको उनको भनाइ छ । केही दिन बाटो नखुले नारायणगढबाट स्याङ्जा पोखरा हुदैँ घुमाउरो बाटो प्रयोग गरेर भएपनि खाद्यान्न ल्याइने उनले जानकारी दिए ।

गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्केले हालसम्मलाई खाद्यान्न अभाव भइनसकेको बताए । खाद्यान्न आपूर्ती भइरहेको भन्दै उनले पेट्रोलियम पदार्थमा भने समस्या देखिएको जानकारी गराए । ‘हामीले सबै व्यवसायीहरुसँग पनि बुझिरहेका छौँ, तत्कालकालाई जिल्लामा खाद्यान्न अभाव हुने अवस्था देखिदैन,’ उनले भने । अभाव हुने अवस्था हुन नदिन आफूहरुले पनि आवश्यक समन्वय र पहल गर्ने उनले बताए ।

चाडवाडमा बजार व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । पसलमा अनिवार्य रुपमा मूल्यसूची राख्नुपर्ने भनिएको छ । रंगिन झिनिया लगायतका अखाद्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । मिसावटयुक्त खाद्य पदार्थ बिक्री वितरण नगर्न पनि भनिएको छ । गुणस्तरिय र म्याद भएका सामानमात्र बिक्री वितरण गर्न प्रशासनले निर्देशन दिएको छ । सामान खरिद पश्चात अनिवार्य रुपमा विल लिने दिने व्यवस्था मिलाउन पनि प्रशासनले आग्रह गरेको छ । वुधवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णयहरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्