| सोमवार, कार्तिक २३, २०८३

चाडपर्वलाई लक्षित गर्दै स्थानीय तहद्वारा सडक मर्मत सम्भार

प्रतीक्षा आले ।

गोरखाका स्थानीय तहहरुले चाडपर्वलाई मध्यनजर गर्दै धमाधम सडक मर्मतसम्भार गर्न सुरु गरेको छ । वर्षातको समयमा बिग्रे–भत्केका सडकहरु चाडपर्व नजिकिएसंगै सरसफाइ गर्न थालेको पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले जानकारी दिएका छन् ।

गोरखा नगरपालिका अन्तरगतका सबै वडाहरुमा आवश्यकता अनुसार बजेट बिनियोजन गरेर सडक सरसफाईको काम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए ।
‘प्रत्येक वडामा आवश्यकता अनुसार एकदेखि तीन लाखसम्म बजेट बिनियोजन गरेर सडक मर्मतको काम सुरु गरेका छौँ’, उनले भने । उनका अनुसार वर्षाले नगरपालिकाभित्रका सडकहरुमा ठूलो असर पु¥याएको छैन ।

पालुङटार नगरपालिकामा सडक मर्मत सम्भारको काम सुरु हुने क्रममा रहेको त्यहाँका इन्जिनियर नबिन पोखरेलले बताए । सडक सरसफाईका लागि बजेट इस्टिमेट तयार भैरहेको र अबको एक–दुई दिनभित्र काम सुरु हुने उनले जानकारी दिए । ‘आवश्यकता अनुसार प्रत्येक वडाहरुका लागि रकम बिनियोजन गरेर काम सुरु गर्ने तयारी भैरहेको छ । हालसम्म कुनैपनि सडकखण्डमा ठूलो क्षति नपुगेकाले धेरै बजेट खर्च नहोला’, उनले भने ।

जिल्लाको सहिदलखन गाउँपालिकाले पनि प्रत्येक वडामा आवश्यकता अनुसार एकदेखि दुई–तीन लाख रुपैँयासम्म बिनियोजन गरेर सडक सरसफाई गर्न लागेको पालिकाको इन्जिनियर राजन रानाभाटले बताए । ‘केही वडा कार्यालयहरु भर्खर सम्झौता गर्न आउँदै हुनुहुन्छ, केहीले भने सम्झौता गरेर पनि काम अघि बढाइसके’, उनले भने ।

भिमसेनथापा गाउँपालिकामा भने विगत ३–४ दिनदेखि पालिकाकै डोजर र ट्रयाक्टरले बाटो सरफाई गर्न थालेको छ । यसपालिको वर्षाले पालिकाको कुनै पनि सडकखण्डहरुमा ठूलो क्षति नपु¥याएका कारण पालिकाले आफ्नै साधन प्रयोग गरेर सामान्य सरसफाईको काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले बताए ।

अजिरकोट गाउँपालिकाले सडक मर्मत सम्भारको कामलाई निरन्तरता दिँदै आएको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर पालिकाले प्रत्येक वडाका लागि तीनलाख रुपैँयाका दरले बिनियोजन गरेर सडक सरसफाईको काम अगाडि बढाएको पालिकाका इन्जिनियर सन्तोष थापा बताउँछन् । ‘सडक सरसफाईको काम त निरन्तर जसो नै भैरहेको हुन्छ, हाल दशैँलाई लक्षित गरेर विभिन्न ठाउँको पहिरो पन्छाउने काम भैरहेको छ । अबको केही दिनभित्र त्यो पनि पूरा होला’, उनले भने ।

आरुघाट गाउँपालिकामा पनि मंगलबारबाट चाडपर्व लक्षित सडक मर्मत सम्भारको काम सुरु भएको छ । पालिकाले आफ्नै जेसिभी प्रयोग गरेर बाटो सरसफाई गरेको इन्जिनियर सन्दिप मरहट्टले बताएका छन् । पालिकाको जेसिभीले नभ्याउने ठाउँमा बजेट बिनियोजन गरेर काम सुरु गर्न लागेको उनले जानकारी दिए । ‘पालिकाको जेसिभीको खर्च बाहेक १० लाख रुपैँया बिनियोजन गरेका छौँ’, उनले भने ।

बारपाक सुलिकोट गाउँपालिकाले २० लाख रुपैँया बिनियोजन गरेर पालिकाको सडक मर्मत सम्भार गर्न सुरु गरेको छ । सोमबारबाट काम सुरु भएको पालिकाको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । वर्षापछि गएको पहिरोले पालिकाभित्रको विभिन्न सडकखण्डहरुको अवस्था नाजुक रहेको उनले जानकारी दिए । फुलपाती अगाडि नै सम्पन्न हुने गरी सडक मर्मत सम्भार तथा सरसफाईको कामहरु भैरहेको पालिकाले जनाएको छ ।

सिरानचोक गाउँपालिकामा पनि असोज पहिलो हप्तादेखि नै सडक सरसफाई तथा मर्मत सम्भारको काम संचालन भैरहेको छ । ‘सडक मर्मत सम्भार तथा सरसफाईका लागि भनेर आर्थिक वर्ष २०८२÷८३ मा २० लाख रुपैँया बिनियोजन भएको छ, त्यही बजेट अन्तरगत दशैँलाई लक्षित गरेर अहिलेको काम संचालन भएको हो’, पालिकाका इन्जिनियर समिर खड्काले भने ।
उत्तरी गोरखाको धार्चेमा भने आवश्यकता अनुसार सडक सरसफाईको काम भैरहेकोले दशैँलाई नै लक्षित गरेर सडक मर्मत सम्भारको कार्यक्रम नराखेको पालिकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्