| सोमवार, कार्तिक २३, २०८३

गण्डकी गाउँपालिकाको लापरबाही : प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाटै ड्रोन गायब !

बिकास मरहट्टा । गण्डकी गाउँपालिकाको ड्रोन क्यामेरा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाटै गायब भएको छ । करिव तीन लाख मूल्य पर्ने उक्त ड्रोन गत भदौ २३ गतेबाट हराएको गाउँपालिका कार्यालयले जनाएको छ । हराएको १४ दिनपछि पालिकाले सार्वजनिक सूचना जारी गर्दै ड्रोन हराएको जानकारी गराएको छ । साथै फेला पारेमा पालिकामा बुझाउन अनुरोध समेत गरेको छ ।

‘यही मिति २०८२ साल भदौ २३ गतेदेखि २९ गतेको अवधिभित्र यस कार्यालयमा प्रयोगमा रहेको ड्रोन क्यामेरा हराइरहेको हुँदा उक्त ड्रोन क्यामेरा फेला पार्नु हुने जो कोही महानुभावले यस कार्यालयमा उपस्थित भई बुझाइ दिनुहुन अथवा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ,’ हराएको दुईसातापछि गत आइतबार प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ ।

घरटोलमा कसैप्रति शंका लागेमा पालिकालाई सूचना दिन पनि भनिएको छ । दोस्रो स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भए लगतै पालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) ले निर्णय गराउँदै पालिकाबाट ड्रोन क्यामेरा खरिद गरिएको थियो । योजना अनुगमन र नदीजन्य पदार्थ (ढुंगा, गिटी, वालुवा) चोरी निकासीको नियमन गर्ने उद्देश्यले ड्रोन खरिद भएको सूचना प्रविधि अधिकृत अस्मिता पन्तले बताइन् ।

‘दोस्रो स्थानीय तहको निर्वाचनपछि पालिकाले ड्रोन क्यामेरा खरिद गरेको थियो,’ उनले भनिन्, ‘सँधै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै हुन्थ्यो, त्यहीँबाट हराएको हो ।’ प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाटै ड्रोन हराउनु पालिकाको गैरजिम्मेवारपन भन्दै सर्वत्र आलोचना हुन थालेको छ । यस बिषयमा प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईसँग जिज्ञासा राख्न पटक पटक टेलिफोन गर्दा उनी फोन सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्