
चुम उपत्यकामा फापर भित्र्याउने सिजन सुरु
उत्तरी गोरखाको चुम उपत्यकामा फापर भित्र्याउने सिजन सुरु भएको छ । ३ हजार देखि ३५०० मिटरसम्म उचाइमा अवस्थित चुम उपत्यकाको छेकम्पारमा सबै किसानहरु अहिले फापर भित्र्याउनमा व्यस्त रहेका स्थानीय पासाङफुञ्जो लामाले जानकारी दिए । चुमनुब्री गाउँपालिका ७ छेकम्पारको प्रमुख बाली नै गहुँ, फापर र आलु हो । गहुँ एक महिनाअघि नै भित्र्याइसकेका छन् । अहिले फापर भित्र्याउन थालेको उनले बताए ।
‘गहुँ, पाक्न ११ महिना लाग्छ, फापर ६ महिनामै पाक्दो रहेछ’, निवर्तमान वडाअध्यक्ष समेत रहेका लामा भन्छन्, ‘एउटै बारीमा सँधै एउटै खेती गर्न नहुने रहेछ । त्यही भएर बारीमा गहुँ, आलु र फापर आलोपालो गरी लगाउँछौँ । एकबर्ष फापर लगायो भने तीनबर्ष गहुँ लगाउँछौँ । अनि फेरि फापर लगाउँछौँ ।’ यो बर्ष फापर धेरै राम्रो उत्पादन भएको उनको भनाइ छ । ‘ढिँडो पकाउँदा पनि तीन भागमा दुईभाग गहुँको पिठो र एकभाग फापरको पिठो मिसाएर पकाउनु पर्छ अनि धेरै मिठो हुन्छ’, उनी भन्छन् ।
यहाँका उच्च हिमाली हावापानीमा उत्पादन भएको फापर अति उच्च गुणस्तरको र औषधीसमेत हुने स्थानीयको भनाइ छ । काठमाडौँका ठूला गुम्बाहरुमा बस्ने लामा गुरुहरुले समेत यहाँबाट फापरको पिठो किनेर लाने गर्छन् । यहाँको फापरको पिठो प्रतिघ्वाक १२० रुपैयाँमा किनबेच हुने गर्छ ।
‘सुगर हुनेलाई, जण्डिस हुनेलाई यो फापरको पिठो औषधी हुने रहेछ’, लामा भन्छन्, ‘गाउँमा मोटरबाटो छैन । हेलिकोप्टर आउँदा काठमाडौंबाट धेरै मगाउँछन् । त्यसमै पठाइदिन्छौँ । कसैलाई खच्चडमा बोकाएर पनि पठाइदिन्छौँ ।’ औषधी हुने भन्दै याक, चौँरीलाई पनि फापरको पिठो खुवाउने चलन रहेको छ ।
सिजन लागेपछि यहाँका छेकम, पारो, जोङ् ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, फुर्पे, छुले र निले गाउँका किसान आलोपालो गरी पर्म लगाएर फापर भित्र्याउने गर्छन् । पछिल्लो चरणमा तिब्बतबाट मेसिन ल्याएर पनि फापर काट्ने गरेका छन् । यसबर्षदेखि मेसिन ल्याएर फापर काटेको पासाङ फुञ्जो लामा बताउँछन् । काट्ने र चुट्ने पनि मेसिनले गर्ने उनले बताए ।




