
घटस्थापनामा पनि जिल्ला प्रशासन कार्यालय खुल्ने
सोमबार, घटस्थापनाको दिन सार्वजनिक बिदा भएतापनि जिल्ला प्रशासन कार्यालयको सेवा संचालन हुने भएको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकता सम्बन्धी सेवा प्रवाह हुने जानकारी गराएको हो । गृह मन्त्रालयद्धारा नेपाल राजपत्रको भाग ५ मा प्रकाशित सूचनामा सार्वजनिक सेवा प्रवाह सम्बन्धी भएको बिशेष व्यवस्था बमोजिम सेवा प्रवाह गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । उक्त व्यवस्था अनुसार यसअघि पनि कार्यालयले गणतन्त्र दिवस, रक्षावन्धन, कृष्ण जन्माष्टमी लगायतका सार्वजनिक बिदाका दिन पनि उक्त सेवा प्रवाह गरेको उनले जानकारी दिए ।
दशैँ नजिकिँदै गर्दा देशविदेशमा बसोबास गर्ने जिल्लाबासी चाड मनाउन जिल्ला आउने र सोही क्रममा विभिन्न सरकारी कामहरु समेत गरेर जाने हुँदा पनि घटस्थापनाको दिन कार्यालय संचालन गर्न लागिएको सहायक प्रजिअ बरालको भनाई छ ।




