| सोमवार, जेष्ठ २४, २०८३

आधारभूत अस्पताल कतै संचालन, गण्डकी र चुमनुब्री अलमलमै

विकास मरहट्टा ।
प्रत्येक पालिकामा कम्तिमा ५ देखि १५ शैयासम्मको आधारभूत अस्पताल निर्माण गर्ने सरकारको नीति आएको पनि एक दसक पुग्न लागिसक्यो । केही पालिकाले निर्माण गरेर पनि सञ्चालन गरिसकेका छन् तर चुमनुब्री र गण्डकी गाउँपालिका भने अहिलेसम्म अलमलमै छन् ।

गण्डकी गाउँपालिकामा अहिलेसम्म अस्पताल निर्माणको काम नै अघि बढेको छैन । मन्त्रालयबाट रकम प्राप्त नहुँदा काम सुरु हुन नसकेको जनस्वास्थ्य निरीक्षक बिमल रेग्मीले बताए । ‘मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको आधारभूत अस्पतालमा स्तरोन्नति गर्ने भन्ने छ,’ रेग्मीले भने, ‘जग्गा व्यवस्थापनसहित डिपिआर गरेर मन्त्रालय पठाइसक्यौँ, तर मन्त्रालयबाट रकम प्राप्त नभएर काम अघि बढ्न सकेको छैन ।’

चुमनुव्री गाउँपालिकामा पनि अस्पताल निर्माणको प्रक्रिया नै अघि बढेको छैन । जग्गा व्यवस्थापन हुन नसक्दा समस्या भएको स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले बताए । शहिद लखन गाउँपालिकाको तीनमानेमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ । १५ शैयाको उक्त अस्पतालको हालसम्म ३० प्रतिशतमात्र कार्यप्रगति भएको छ । हाललाई घैरुङ स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालको रुपमा संचालन गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।

कार्यपालिका बैठकबाट निर्णय पनि भइसकेको छ,’ उनले भने, ‘हामीले मेडिकल अफिसर पनि राखिसकेका छौँ ।’ उक्त स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालको रुपमा संचालनका लागि यो बर्ष एक करोड ६ लाख बजेट समेत परेको उनले जानकारी दिए । ‘बजेट कार्यान्वयनको प्रक्रियामा छौँ, उक्त स्वास्थ्य चौकीमा छिटै पाँच शैयाको आधारभूत अस्पताल संचालन गर्छाैँ,’ उनले भने ।

सिरानचोक गाउँपालिकामा जौवारी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको आधारभूत अस्पतालको रुपमा संचालनको तयारी गरिएको छ । असोज महिनाबाट अस्पताल संचालनमा आउने पालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले बताए । ‘भवन निर्माण भइसकेको छ, अब कार्यपालिका बैठक बसेर निर्णय भएपछि संचालनमा आउँछ,’ उनले भने ।

अजिरकोट गाउँपालिकामा भने आधारभूत अस्पताल संचालनमा आएको दुई बर्ष भइसक्यो । भच्चेक स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालमा स्तरोन्नती गरिएको स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले बताए । पाँच शैया क्षमताको उक्त अस्पतालले नयाँ भवनबाट सेवा दिइरहेको उनले जानकारी दिए ।

भीमसेन थापा गाउँपालिकाले पनि आश्राङ स्वास्थ्य चौकीलाई दश शैयाको आधारभूत अस्पतालमा स्तरोन्नति गरेर संचालनमा ल्याइसकेको छ । २०८० पुस महिनाबाट अस्पताल संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । ‘स्वास्थ्यचौकीको पुरानै भवनलाई मर्मत गरेर सेवा दिइरहेका छौँ,’ उनले भने, ‘नयाँ भवन निर्माणका लागि जग्गा व्यवस्थापन भएको छ तर केन्द्रबाट बजेट रोक्का भएकाले बाँकी प्रक्रिया अघि बढ्न सकेको छैन ।’

आरुघाट गाउँपालिकामा आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालमा स्तरोन्नति गरेर संचालन गरिएको छ । २०८१ साल जेठ महिनाबाट १५ शैयाको आधारभूत अस्पताल संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख प्रवीन थापाले बताए ।
धार्चे गाउँपालिकाको खोर्लावेशीमा पाँच शैयाको आधारभूत अस्पताल संचालनमा आइसकेको छ ।

गत मंसिरबाट अस्पताल संचालनमा आएको स्वास्थ्य संयोजक अमृतबहादुर घलेले बताए । नयाँ भवनबाट सेवा प्रवाह भइरहेको उनले जानकारी दिए । बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीस्थित हुडिफाँटमा १५ शैयाको आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ । संरचना तयार भइसकेको र माघबाट सेवा सुरु गर्ने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले बताए ।

गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा भने गोरखा अस्पताल र आपपिपल अस्पताललाई आधारभूत अस्पतालको रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्