
दुर्गम गाउँमा पनि संविधान दिवसको रौनक

राजधानी तथा जिल्ला सदरमुकामहरुमा संविधान दिवस बर्सेनी मनाइँदै आएको हो, तर दुर्गम गाउँतिर कुनै दिवस, सभा, समारोहभन्दा पनि कामकै कुरा धेरै हुने गर्छन् ।
गोरखाको दुर्गम लाप्राक गाउँमा यो बर्ष पहिलो पटक संविधान दिवस मनाइएको छ ।
धार्चे गाउँपालिका वडा नं. ४ को कार्यालय, हिमाली आमा समूह तथा धार्चे प्रगतिशील महिला समूहले संयुक्त रुपमा संविधान दिवस मनाएका हुन् । जेन–जीको आन्दोलनपछिको परिवर्तित समयमा संविधानको महत्व झन्झन् बढेकाले गत असोज १ गते संयुक्त बैठक राखेर संविधान दिवस मनाइएको वडाअध्यक्ष किसान गुरुङले जानकारी दिए ।
धार्चे गुरुङ, घले र केही विश्वकर्मा समुदायको मात्र बसोबास भएको गाउँ हो । एक वडा एक गाउँ रहेको यहाँ ६०० भन्दा धेरै घरधुरी रहेको छ ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष किसान गुरुङले धार्चे जस्तो दुर्गम भेगका लागि संविधानले नै विशेष अधिकारको व्यवस्था गर्नुपर्नेमा जोड दिए । आफ्नो अधिकारका विषयमा सशक्त आवाज उठाउन पछि पर्नु नहुने उनको तर्क थियो । हिमाली आमा समूहकी स्मृति गुरुङले दुर्गमको आवाज सदरमुकाम र राजधानीमा नपुग्ने गुनासो गर्दै आफूहरुको आवाजको सम्बोधन गर्ने खालको संविधानको माग गरिन् । त्यस्तै धार्चे प्रगतिशील महिला समूहकी रोजिना गुरुङले दुर्गम गाउँमा गुणस्तरीय शिक्षा, स्वास्थ्य र युवाहरुलाई रोजगार भए विदेश जानुपर्ने अबस्थाको अन्त्य हुने बताइन् ।
वडा सदस्य सुदीप गुरुङ, पसमाया गुरुङ तथा मनबहादुर गुरुङले दुर्गमका बासिन्दाले पनि सुगमका बासिन्दाले जत्तिकै अधिकार पाउनु पर्ने धारणा राखेका थिए । जनसंख्याको आधारमा बजेट विनियोजन गर्ने वर्तमान व्यवस्थाले दुर्गम गाउँको तिब्र विकास हुन नसकेको भन्दै उनीहरुले दुर्गम क्षेत्रको विकासमा प्राथमिकता दिनु पर्ने उनीहरुको भनाइ थियो ।

क्याप्सन : धार्चे ४ लाप्राकमा आयोजित ११ औ संविधान दिवस कार्यक्रमका सहभागीहरु ।
तस्वीर : दिलबहादुर गुरुङ ।




