| आइतवार, कार्तिक २२, २०८३

जेनजी आन्दोलनको प्रभावले घट्यो ट्राफिक राजश्व

जेनजी आन्दोलनको प्रभाव जिल्ला ट्राफिक प्रहरी कार्यालयको राजश्वमा पनि देखिएको छ । भदौ महिनामा राजश्व घटेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत बर्षको भदौ महिनामा ७ लाख ७८ हजार राजश्व संकलन भएको थियो । कुल ८ सय ७४ सवारी कारवाहीमा परेका थिए ।

तर यो बर्षको भदौ महिनामा ५ लाख १७ हजार मात्र राजश्व संकलन भएको छ । जेनजी आन्दोलनका कारण राजश्वमा केही कमी भएको ट्राफिक सहायक हवल्दार श्रीराम कुर्मीले बताए । ‘आन्दोलनका क्रममा गाडीहरु चलेनन्,’ उनले भने, ‘हाम्रो कार्यालयबाट चेकजाँच पनि हुन सकेन, त्यसैले राजश्व केही घटेको हो ।’ यस बर्षको भदौ महिनामा कुल ५ सय ३८ सवारी साधन कारवाहीमा परेका थिए । सबैभन्दा बढी मोटरसाइकलबाट उठेको छ ।

सवारी नियम उल्लघंन गर्ने कुल २ सय २४ मोटरसाइकलबाट २ लाख १८ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । त्यस्तै कार/जीप/भ्यानबाट १ लाख १३ हजार राजश्व संकलन भएको छ । कारवाही संख्या कुल १ सय १९ रहेको बताइएको छ । ९७ वटा बस कारवाहीमा पर्दा ९५ हजार ५ सय राजश्व उठेको छ । ट्रक र टिपरबाट ६६ हजार राजश्व संकलन भएको छ । कुल ६८ वटा ट्रक/टिपर कारवाहीमा परेका थिए ।

ट्याक्टरबाट भने २४ हजार पाँच सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कुल ३० वटा ट्याक्टर कारवाहीमा परेका थिए । भदौ महिनामा मात्रै ९४ वटा सचेतनामूलक कार्यक्रम संचालन गरिएको कार्यालयले जनाएको छ । बिभिन्न बिद्यालय, समुदाय र यात्रु तथा चालकलाई लक्षित गरी संचालन भएको कार्यक्रमबाट ४ हजार भन्दा बढी लाभान्वित भएको ट्राफिक सहायक हवल्दार कुर्मीले बताए ।

गत बर्षको तुलनामा यो बर्ष राजश्वमा कमी आउन सक्ने उनले जानकारी दिए । ‘हाम्रो उदेश्य जरिवानाभन्दा पनि ट्राफिक नियमबारे सचेत गराएर पालना गर्न लगाउने हो, राजश्वमा केही कमी आउन सक्ला त्यो अलग पाटो भयो,’ उनले भने । गत बर्ष ११ हजार ४३ वटा सवारी कारवाहीमा परेका थिए । कुल १ करोड ७ लाख ७१ हजार राजश्व संकलन भएको थियो । कार्यालयको राजश्व एक करोड नाँघेको जिल्लामा यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्