| शुक्रबार, असार ११, २०८३

नौ जना भगौडा कैदीबन्दी गोरखामा पक्राउ

जेनजी आन्दोलनको लाभ उठाउँदै कास्की, तनहूँ र केन्द्रीय कारागारबाट भागेर गोरखा आइपुगेका ९ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारागारबाट भागेर आएका ६ जना, केन्द्रीय कारागारबाट भागेर आएका दुई जना र तनहूँ जिल्ला कारागारबाट आएका एकजनालाई गोरखामा पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिए ।

भगौडाहरुमध्य पाँच जना कर्तव्य ज्यान मुद्दाका रहेका छन् भने तीन जना जबर्जस्ती करणीका र एकजना चोरी मुद्दाका रहेका छन् । कास्की कारागारबाट भागेर आएका चुमुनव्री गाउँपालिका–६ चुम्चेतका सोनाम दोर्जे लामा, छेवाङ रिञ्जिन लामा, सोनाम ग्याल्जेन लामा र तेन्जिन लामालाई पक्राउ गरेको जिप्रका गोरखाले जनाएको छ ।

उनीहरु कर्तव्य ज्यान मुद्दामा विगत आठ बर्षदेखि उनीहरु कास्की कारागारमा रहेर सजाय भुक्तान गरिरहेका थिए । त्यस्तै सोही कारागारबाट भागेर आइपुगेका भीमसेनथापा गाउँपालिका १ तल्लो सपुंगेका राजेश विश्वकर्मा र पालुङ्टार २ चापाभञ्ज्याङका बाबुराम नेपालीलाई पनि पक्राउ गरेको प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिए ।

त्यस्तै केन्द्रीय कारागारबाट भागेर आएका गण्डकी गाउँपालिका ८ का सुमन सुन्दास र सिरानचोक ४ मैदानका भरत ठकुरीलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले बताए । उनीहरु दुवैजना जबर्जस्ती करणी मुद्दाका कसुरदार हुन् । ‘आन्दोलनको क्रममा कारागारबाट भागेर आएका रहेछन्’ प्रहरी निरीक्षक सरोज कार्कीले भने, ‘बिशेष सूचनाको आधारमा बुधवार उनीहरुलाई हामीले पक्राउ गरेका हौ ।’

तनहूँ कारागारबाट भागेर आएका सिरानचोक गाउँपालिका–८ का बिशाल उपरकोटी पनि पक्राउ परेका छन् । चोरी मुद्दाका उनी थुनुवा रहेको डिएसपी सुवेदीले बताए । ‘उपरकोटी थुनुवा र बाँकी सबै कैदी हुन्, उनीहरु सबैलाई सम्बन्धित कारागारमा पठाउने तयारी गरिरहेका छौँ’, उनले भने । आन्दोलनको क्रममा बिभिन्न जिल्लाका कारागारबाट भागेका कैदीवन्दीहरु गोरखा आएको हुनसक्नै भन्दै निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्