
रास्वपा छाड्दै सुमनाले भनिन्, ‘तपाई पनि कि हट्नुस्, कि हटाउनुस्’
पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट निर्वाचित सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । ‘नेतृत्वले कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । यो स्वीकार्य छैन । अब खुल्लामखुल्ला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । आई क्वीट, मैले पार्टी छोडेँ ।’ तर पार्टी छाडे पनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् ।
पार्टी छाडेको घोषणा गर्दै उनले भनिन्, ‘मैले परिवर्तनको एजेन्डा कहिल्यै छाडेको छैन । यही एजेन्डा बोकेर युवा पुस्ताले जुन आन्दोलन गर्नुभएको छ, त्यसमा साथ दिनुपर्छ । उहाँहरूलाई बदनामी गर्ने जुन काम भइरहेको छ, त्यस्तो हुनुभएन ।’
पार्टीभित्र रहेर गर्न नसकेको काम आफूले युवा पुस्तामाझ रहेर गर्न चाहेको उनले बताइन् । ‘मैले मन्त्री पद खान पार्टी छाडेको होइन, भाइबहिनीहरूलाई साथ दिन, उहाँहरूसँगै बसेर परिवर्तनका लागि काम गर्न पार्टी छाडेको हुँ’,ु उनले भनिन् ।
उनले अन्य दलमा रहेका युवा नेताहरूलाई पनि यसमा काम गर्न आग्रह गरेकी छन् । ‘सबै दलका तेस्रो, चौथो तहमा रहेका युवा नेतालाई म भन्न चाहन्छु — कति डराउने, किन डराउने ? हामी सबैले चाहेको परिवर्तन हो । कि हट्नुस्, कि हटाउनुस्, तर यो जेन–जी पुस्ताले ल्याएको परिवर्तनलाई जोगाएर एउटा ठाउँमा पु¥याउने काम गर्नुस् ।’




