| मङ्लबार, साउन २५, २०८३

जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका सुधन गुरुङ

जेन जी विरोध प्रदर्शनको गृहकार्यबारे एकाधबाहेक प्राय अनभिज्ञ थिए । त्यसतर्फ अगाध आस्था राख्नेबाहेक अरुले छिपछिपे जानकारी मात्र पाएका थिए । बलियो अनुसन्धान ब्यूरोले पनि फितलो अनुसन्धान गरेकाले सरकारले पनि भदौ २३ को बिरोध प्रदर्शनलाई नजरअन्दाज ग¥यो । तर नतिजा फरक देखियो ।

भदौ २३ मा राज्यपक्षबाट चरम दमन भयो । धेरै जनधनको क्षति भयो । त्यसको बदलास्वरुप जेन जीले २४ गते प्रतिशोध बिद्रोह गरे । राजनीतिक उथलपुथल हुनेगरी भएको विद्रोहपछि क्रमशः यसका नेतृत्वकर्ताहरुको खुलासा हुन थाल्यो ।
सरकार गठनका लागि जंगीअड्डा, सितल निवासमा भएको वार्ता संवादमा होओस् वा यस बीचमा रणनीति बनाउने सिलसिलामा होओस् अथवा प्रधानमन्त्री चयनपछिको खुशीयाली साँटासाँट गर्ने क्रममा एउटा अपरिचित अनुहार एकाएक दृश्यमा दोहोरिरह्यो । उनी थिए सुधन गुरुङ ।

जेनजीको आन्दोलनलाई नेतृत्व गरेका युवा भनेर प्रस्तुत भएका उनी जेन जी भने थिएनन् । ‘जेनजी’ भनेर २८ बर्ष उमेरसमूहकालाई चिनिन्छ तर उनी थिए ३५ बर्षका । सामाजिक सञ्जालमा सार्वजनिक भएको उनको नागरिकतामा उनको जन्ममिति २०४७ साल लेखिएको छ । नागरिकताको प्रतिलिपिमा जन्मस्थानमा गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबास रहेको लेखिएको छ । स्थानीयबासी, इष्टमित्र, आफन्तजनका अनुसार उनको जन्म काठमाडौमा भएको हो ।

जेनजीले औपचारिक रुपमा कसैलाई पनि अभियानको संयोजक तोकेका छैनन् । तर, सामाजिक सञ्जाल, टेलिभिजनहरुमा उनको क्रियाकलाप अगाडि देखिने गरेको छ । उनको आवाज निर्णायक बन्ने गरेको छ । सुशीला कार्की प्रधानमन्त्री बनेपछि उनको पाउमा साष्टाङ्ग दण्डवत गरेको तस्वीर तथा भिडियोले अझै सबैको ध्यान खिचेको छ ।

उनको पुख्र्यौली थलो साविक सिर्दिबास गाविस नाग्चेत हो । उनका बुबा दिलबहादुर गुरुङलाई गाउँघरमा इष्टमित्र, आफन्तजनले ग्याल्बो भनेर संवोधन गर्ने गर्छन् । उनका तीन श्रीमतीमध्य माहिली श्रीमतीबाट सुधनको जन्म भएको थियो । चितवनको मेघौलीमा उनको प्रारम्भिक स्कूले जीवन बित्यो । उनी १०, १२ बर्षको हुँदा बाबा र आमाको सम्बन्ध बिच्छेद भयो । त्यसपछि उनी मामाघरका हजूरबा, हजूरआमाको संरक्षणमा काठमाडौँमा हुर्किए, बढे, पढे । काठमाडौँमा जन्मे, चितवनमा बाल्यकाल बिताए पनि उनको जन्मस्थल गोरखा भनेरै चिनिन्छ । चुमनुब्री ३ को वुद्ध मावि मतदानकेन्द्रमा उनको मतदाता नामावली छ । तर अहिलेसम्म मतदान गर्न नआएको स्थानीयबासीको भनाइ छ ।

‘उ हाम्रो आफन्त हो, तर सानैदेखि देखेको मान्छेचाहिँ होइन’, चुमनुब्री गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष कुमारी गुरुङ भन्छिन्, ‘नागरिकता, मतदाता परिचयपत्रचाहिँ यहीँको छ ।’
उनका दाइ नाता पर्ने सुमन गुरुङ चितवनमा बाल्यकाल संगै बिताएको तर अहिले धेरै बर्षदेखि भेटघाट नभएको बताउँछन् ।
ए लेभल पढेपछि उनी साथीभाइको संगतमा अलिक धेरै परे । संगतमै क्लब, डिस्को जाने बानी बसालिसकेका थिए । यही बीच उनले डिजेको काम सुरु गरे । डिजेमा स्थापित भएका उनले ठमेलमा ओएमजी नामको क्लब सञ्चालन गरे । क्लबबाट उनको आर्थिक राम्रै भयो ।

व्यवसायी करिअरका क्रममा २०७२ सालको भूकम्पपछि सुधनलाई सामाजिक सेवातिर मोड्यो । विशेषगरी राहत र उद्धारमा उनको खटाइले चर्चा पायो । त्यसपछि उनले ‘हामी नेपाल’ नामक सामाजिक संस्था स्थापना गरे । यसमा अहिले सोह्रसयभन्दा बढी सदस्य जोडिएका छन् । सेवाभावले खुलेको यसमा देशी–विदेशी कम्पनीहरूबाट अनुदान प्राप्त हुने गरेको छ ।

रात्रिकालीन व्यवसायबाट समाजसेवामा मोडिएका सुधनले भूकम्पका पीडितहरूलाई सहयोग गरेर प्रसंसासंगै राम्रो ख्याति कमाए । यसपछि रात्रीकालीन व्यवसायमा फर्किएनन् । बरु रियलस्टेट, एड्भेन्चर, वाटरस्पोट्र्स बिजनेसतर्फ लागे ।
बिजनेशको के कुरा, भूकम्पका बेला, कोभिडका बेला स्वयंसेवा गरेर एउटा तहमा चिनिएका उनी सबैभन्दा धेरै चर्चा अहिले कमाएका छन् । देशभरका र विशेष गरी गोरखाली युवाहरुले उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा साझा गर्दै उनको मनग्य तारिफ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्