| सोमवार, साउन २४, २०८३

जेनजी प्रदर्शन : गोरखामा शैक्षिक संस्थादेखि यातायातसम्म बन्द गण्डकी प्रदेश मन्त्री देवकोटा र संघीय सांसद बजगाईले दिए राजीनामा

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिवन्धबिरुद्ध जेनजीले गरेको प्रदर्शनको प्रभाव गोरखामा पनि देखियो । मंगलवार जेनजी गोरखाले दिनभरजसो सदरमुकाम तथा विभिन्न पालिकाका बजार क्षेत्रमा विरोध प्रदर्शन गरे ।

सोमबारको प्रदर्शनमा धेरै युवाहरुको प्रहरीको गोली लागी मृत्यू भएको बिरोध तथा शोकमा जिल्लाका सबै शैक्षिक संस्थाहरु बन्द भए । सम्बन्धित पालिकाहरुले सार्वजनिक सूचना जारी गर्दै शैक्षिक संस्था बन्द हुने जानकारी गराएका थिए । यस परिस्थितिमा बिद्यालय संचालन गर्न कठिन हुने भन्दै पालिकाभित्रका सामुदायिक र संस्थागत बिद्यालयमा एक दिन शोक बिदा दिने निर्णय गरिएको उनीहरुले बताएका छन् ।

द्रव्यशाह बहुमुखी क्याम्पसले तीन दिन पठनपाठन बन्द रहने जनाएको छ । मंगलवार सूचना जारी गर्दै बिहीवारसम्म पठनपाठन बन्द हुने र दुई दिन क्याम्पसको प्रशासनिक कार्य पनि स्थगित गरिएको जानकारी गराएको हो ।
प्रदर्शनका कारण जिल्लामा सार्वजनिक यातायात सेवा पनि प्रभावित बन्यो । देशभर भएको प्रदर्शनका कारण जिल्लाबाट छुटेका सार्वजनिक यातायात गन्तव्यमा पुग्न सकेनन् ।

मंगलवार दिनभरजसो गोरखा सदरमुकाममा जेनजी युवाहरुको प्रदर्शन रह्यो । हरमटारीचोकमा भेला भएर उनीहरुले जेनजी प्रदर्शनमा सरकारको दमन बिरुद्ध नारावाजी गरे । भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमा लगाइएको प्रतिवन्ध हटाउनु पर्ने लगायतका माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । नारावाजी गर्दै उनीहरुले हरमटारीचोकदेखि बसपार्क सम्म बिरोध ¥याली समेत गरेका थिए । उनीहरुको प्रदर्शन शान्तिपूर्ण थियो ।

आन्दोलनमा राज्यको दमनप्रति स्ववियू गोरखा क्याम्पसको बिरोध, मृतकको सम्झनामा दीप प्रज्वलन भएको छ ।
जेनजी युवाहरुको प्रदर्शनमा सोमवार राज्यले गरेको दमनप्रति स्ववियू गोरखा क्याम्पसले बिरोध जनाएको छ । उक्त घटनाको भत्र्सना गर्दै स्ववियूले प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा मंगलवार दीप प्रज्वलन गरेको छ । क्याम्पस परिसरमा भएको कार्यक्रममा बिद्यार्थी, शिक्षक र कर्मचारीहरु सहभागी थिए । उनीहरुले मृतक प्रति श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

गोरखाका मोवाइल व्यवसायीहरुको पनि बिरोध
जेनजीको प्रदर्शनमा राज्यले गरेको दमनको बिरोधमा गोरखाका मोवाइल व्यवसायीहरु पनि उत्रिएका छन् । राज्यको दमन बिरुद्ध मंगलवार हरमटारीचोकमा भएको जेनजी बिरोध सभामा एक्यवद्धता जनाउँदै उनीहरुले मंगलवार तीन घण्टा पसल बन्द गरेका छन् । मंगलवार बिज्ञप्ती जारी गर्दै नेपाल मोवाइल व्यवसायी महासंघ जिल्ला कार्यसमिति गोरखाले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पसल बन्द गर्ने निर्णय गरेका थिए ।

गण्डकी प्रदेश मन्त्री देवकोटा र संघीय सांसद बजगाईले दिए राजीनामा
गण्डकी प्रदेशका एक मन्त्रीले पदबाट राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले राजीनामा दिएका हुन् । पार्टीको निर्देशन र आफ्नो विवेकका कारण आफूले राजीनामा दिएको उल्लेख गरेका छन् । बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी(नयाँशक्ति)पार्टीबाट गोरखा क्षेत्र नम्वर २ क बाट निर्वाचित भएर मन्त्री भएका उनको राजीनामा पत्र भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सार्वजनिक गरेका हुन् ।
यता प्रतिनिधी सभा सदस्य राजेन्द्र बजगाईले पनि संसद पदबाट राजीनामा दिएका छन् । जेनजीको प्रदर्शनको समर्थन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । जेनजी प्रदर्शनमा राज्यले गरेको दमनको उनले बिरोध समेत गरेका छन् । बजगाई गोरखा क्षेत्र नम्वर १ बाट नेपाली कांग्रेसका बिजयी संसद हुन् ।

संघसंस्थाको पनि बिरोध
जेनजी प्रदर्शनमा राज्यले गरेको दमनको नेपाल निवृत्त शिक्षक समाज गोरखाले बिरोध गरेको छ । मंगलवार प्रेस बिज्ञप्ती जारी गर्दै समाजले घटनाको दोषिलाई कानूनी कारवाही गर्न माग समेत गरेको छ । प्रदर्शनमा ज्यान गुमाएकाहरुको परिवारलाई राहत र क्षतिपूर्ति तथा घाइतेहरुको सघन उपचारका लागि समाजले जोडदार माग गरेको छ ।

सोमवारको घटनाप्रति गोरखा उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको छ । मंगलवार प्रेस बिज्ञप्ती जारी गर्दै संघले जेनजीको प्रदर्शनमा संवेदनशिल हुन सरकारलाई आग्रह समेत गरेको छ । यस बिषम परिस्थितिमा संयमित भएर सौहार्दपूर्ण वातावरणमा आफ्नो पेशा व्यवसाय संचालन गर्न संघले व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।

गोरखा अदालतको पनि समर्थन
जेनजीको प्रदर्शनप्रति गोरखा जिल्ला अदालतका कर्मचारीहरुले पनि एक्यवद्धता जनाएका छन् । मंगलवार उनीहरुले कार्यालय परिसर अघि प्ले कार्डसहित प्रदर्शन गरेका थिए । जेनजीको प्रदर्शनको क्रममा राज्यले गरेको दमनको उनीहरुले बिरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्